आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • देशभर रोपाइँः चितवनमा मात्र दुई प्रतिशत
समाचार

देशभर रोपाइँः चितवनमा मात्र दुई प्रतिशत

वर्षा नहुँदा मध्य असारसम्म पनि जिल्लामा थोरै जग्गामा धान रोपाइँ भएको छ । देशभर किसानले दही चिउरा खाएर रमाइलो गर्दा यहाँका किसान धान रोपाइँ गर्न आकाशतिर हेरेर पानीको पर्खाइमा छन् । कृषि ज्ञान केन्द्र भरतपुरका बाली विकास अधिकृत माधव पौडेलका अनुसार शुक्रबारसम्म दुई दशमलव पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

मनसुन सक्रिय नभएका कारण किसानले धान रोप्न नपाएको उहाँले बताउनुभयो । गत वर्ष यतिबेला १५ प्रतिशत धान रोपाइँ भएको थियो । बीउ डढ्दा उत्पादन घट्ने कृषकलाई चिन्ता छ । जिल्लामा २८ हजार छ सय हेक्टरमा बर्खे तथा र पाँच सय हेक्टरमा चैते धान रोप्ने गरिएको पौडेल बताउनुहुन्छ । बर्खे धानको उत्पादकत्व तीन दशमलव चार मेट्रिक टन तथा चैते धानको उत्पादकत्व चार दशमलव दुई मेट्रिक टन रहेको छ ।

यसैबीच कृषि ज्ञान केन्द्र र भरतपुर महानगरपालिकाको सहयोगमा पश्चिम चितवनको दिव्यनगरमा १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । बृहस्पति धानबाली पकेट सञ्चालक समितिले कार्यक्रमको आयोजाना गरेको हो । कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रजिअ जितेन्द्र बस्नेत र कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले एकीकृत खेती प्रणाली अपनाएर उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो ।

बोरिङको पानीले रोपाइँ महोत्सव

लमहीः दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कञ्जुवारमा बोरिङको पानीले रोपाइँ महोत्सव गरिएको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कञ्जुवारमा डिप बोरिङको पानी जम्मा गरी रोपाइँ महोत्सव गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगर कृषि शाखाका कुलराज चौधरीका अनुसार आजसम्ममा आधा रोपाइँ भइसक्नुपर्नेमा पानी नपर्दा न्यून रुपमा धान रोपाइँ गरिएको छ ।

“सिँचाइको निकै समस्या छ, डिप बोरिङ, लिफ्टिङ र स्यालो ट्युवेलमार्फत रोपाइँ गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । अधिकांश खेतमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ । जिल्लामा ३९ हजार हेक्टर जग्गा धान उत्पादनका लागि उपयुक्त छ । गत वर्ष करीब ३७ हजार हेक्टरमा मात्रै धान रोपाइँ गरिएको थियो । तीस ३० हजार हेक्टर जग्गामा आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो ।

बेर्ना राख्न पाएनन्

डोटीः दीपायलमा पानीको अभावमा किसानले धानको बेर्ना राख्न पाएका छैनन् । सिँचाइ अभावका कारण कतिपयले खेतसमेत जोतेका छैनन् । पानी नपर्दा बेर्ना राख्न नसकेको पिपल्लाका टीका कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “आज सबैले धान दिवस मनाए, मैले बीउ समेत राख्न पाएको छैन ।” विसं २०७१ मा बाढीले सलेनिगाढको कुलो बगाएपछि किसान सिँचाइ गर्नबाट वञ्चित हुँदै आएका हुन् । “कुलो बगाएपछि आकासे पानीको भरमा खेती गर्न बाध्य छौँ”, उहाँले भन्नुभयो । जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा कूल १० हजार हेक्टर जग्गामा धान रोपाइँ गरिन्छ ।

सिन्धुलीमा तीन प्रतिशत रोपाइँ

सिन्धुलीः पर्याप्त वर्षा नहुँदा हालसम्म जिल्लामा तीन दशमलव पाँच प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । सिँचाइको अभावमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताउनुभयो । गत वर्ष असार १५ गतेसम्ममा झण्डै ४५ प्रतिशत खेतमा धान रोपाइँ गरिएको थियो । असार मध्यसम्ममा जिल्लाको १६ हजार ४८२ हेक्टरमध्ये ५७६ हेक्टरमा मात्र धान रोपाइँ गरिएको ढकालले बताउनुभयो । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाको केही ठाउँमा धान रोपाइँ भए पनि सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकामा धानको ब्याड राख्न समस्या भएको छ ।

बाँकेमा दुई प्रतिशत धान रोपाइँ

राँझाः धान दिवस सम्पन्न भइसक्दासम्म बाँकेमा पर्याप्त रुपमा धान रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा भएका केही ठाउँमा रोपाइँ गरिए पनि आकासे पानीको भर पर्नुपर्ने ठाउँमा किसानले रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो ।जिल्लामा हालसम्ममा दुई प्रतिशत मात्र रोपाइँ गरिएको छ । सिँचाइ सुविधा भएको खजुरा गाउँपालिकाको गौघाटलगायत केही वडामा मात्र धान रोपाइँ गरिएको छ । जिल्लाको झण्डै ५२ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये २७ प्रतिशतमा सिँचाइ सुविधा छ । जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर जग्गा छ । गत वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

बैतडीमा ४० प्रतिशत रोपाइँ

बैतडीः जिल्लामा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश ठाउँमा आकासे पानीको भरमा रोपाइँ गरिएको हो । सिँचाइ सुविधा भएका ठाउँमा गत जेठ तेस्रो सातादेखि रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादर चन्दले बताउनुभयो । दशरथचन्द नगरपालिकाको सेरा, रातामाटा, पञ्चेश्वर, गोकुलेश्वरलगायत महाकाली, सुर्नया र जमाडी गाडको छेउछाउमा चैते मकै भित्र्याएपछि धान रोपाइँ गरिन्छ । रोपाइँ गर्न असार उपयुक्त मानिने चन्द बताउनुहुन्छ । पाटन नगरपालिकाको पाटन र सलेना, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका तथा दशरथचन्द नगरपालिका धानखेतीको पकेट क्षेत्र हो । जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै