मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • तीन दिनदेखि बन्द इलामका ५२ चिया उद्योग आजबाट सञ्चालनमा
समाचार

तीन दिनदेखि बन्द इलामका ५२ चिया उद्योग आजबाट सञ्चालनमा

तीन दिनदेखि बन्द रहेका इलामका ५२ चिया उद्योग आजबाट सञ्चालनमा आएका छन् । सूर्योदय नगरपालिकामा सञ्चालित ५२ चिया कारखाना आजबाट सञ्चालनमा आएका हुन् । नगरपालिकाले लागू गरेको कार्यविधिअनुसार हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई न्यूनतम मूल्य दिन नसकेको भन्दै बन्द भएका चिया कारखाना सञ्चालनमा आएका हुन् । नगरपालिका र एशोसिएशनमा आवद्ध कारखानाका प्रतिनिधिबीच भएको छलफलपछि कारखाना खुलाउने सहमति भएको थियो ।

सहमति भएसँगै सूर्योदय टी एशोसिएशनमा आवद्ध ५२ चिया प्रशोधन उद्योग खुलाइएको छ । छलफलमा नगरपालिकाले लागू गरेको ‘हरियो चियाको गुणस्तर मापदण्डकार्यविधि’ अनुसार ४० प्रतिशत मुना भन्दा मुनिको चिया खरीद गर्ने सहमति भएको एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो । एशोसिएशनले ४० प्रतिशत गुणस्तर कायम गर्न उद्योगका कर्मचारी साटासाट गर्ने बताउनुभयो । चियामा आएको समस्या समाधानका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्यीय समिति निमार्ण गरिएको छ ।

समितिमा नगरपालिकाबाट तीन, उद्योगीबाट दुई, किसानबाट चार, एशोसिएशनबाट तीन प्रतिनिधि, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष सदस्य र नगरस्तरीय सहकारी शाखाका प्रमुख सदस्य सचिव रहने आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताउनुभयो । भारतीय बजारमा तयारी चियाको मूल्य नपाए पनि उद्योगलाई नगरपालिकाले हरियो पत्तीको मूल्य बढी दिनुपरेको भन्दै यही असार १२ गतेदेखि सूर्योदय टी एशोसिएशनमा आवद्ध यहाँका ५२ चिया उद्योग बन्द गरिएका थिए । चिया उद्योगीले उद्योग बन्द गरेपछि त्यसको मार किसानलाई परेको थियो ।

आज चिया खरीद गर्न थालिए पनि गुणस्तरीय चिया नआएको भन्दै कारखानाले किसानले ल्याएको चिया फिर्ता गरेका छन् । उनीहरुले नगरपालिकाले तोकेको कार्यविधिमा उल्लेख भएअनुसारको चिया नआएको भन्दै चिया फिर्ता गरेको बताएका छन् । फिर्ता गरिएको हरियो चियापत्ती फाल्ने वा घर लैजाने भन्नेमा अन्योल छाएको किसानको भनाइ छ । बर्खा सिजन भएकाले घरमा हाते चिया बनाउनसमेत समस्या हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै