बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • राससमा दहीचिउराका साथ एसइई सफललाई सम्मान
समाचार

राससमा दहीचिउराका साथ एसइई सफललाई सम्मान

नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) शाखाले असार १५ का उपलक्ष्यमा रासस कर्मचारीका माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल भएका सन्तानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा राससका प्रधानसम्पादक श्यामप्रसाद रिमालकी छोरी अनन्या रिमाल, रासस प्रदेश नं २ का प्रमुख हिमांशुकुमार चौधरीकी छोरी प्रियसा चौधरी, प्रदेश नं ५ प्रमुख भरत केसीकी छोरी आकृतिसिंह केसी, रासस भद्रपुर कार्यालय प्रमुख चन्द्रकला भण्डारीका छोरा मनसुन न्यौपाने र कार्यालय सहायक कमला पौडेलकी छोरी अस्मिता खनाल हुनुहुन्छ ।

राससका अध्यक्ष श्यामल अधिकारीले सम्मानित विद्यार्थीलाई जीवनमा कहिल्यै शिर झुक्न नदिनका लागि सधैँ इमान्दार भएर लाग्न सल्लाह दिनुभयो । एसइई पछि जुन विषय अध्ययन गरे पनि हुने तर पढेको विषयमा अब्बल हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले सम्मानित पाँचै जनालाई अध्ययनको क्षेत्र व्यापक बनाउन पनि सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म पाठ्यपुस्तक नै बढी पढ्ने गरेकामा आगामी दिनमा सन्दर्भ सामग्रीको खोजी गरेर पनि पढ्नुपर्छ ।”

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले सम्मानितहरुले आगामी दिनमा राष्ट्रिय र अन्तरराष्ट्रिय व्यक्तित्व बन्ने उद्देश्य लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुन विषय पढ्ने र आगामी दिनमा कतातिर जाने भन्ने तपाईँहरुकै हातमा निर्भर छ ।” प्रधानसम्पादक रिमालले सिङ्गो संसार नै विश्वविद्यालय भएको बताउनुभयो । अभिभावकले भन्दा पनि कुन विषय पढ्ने भन्ने निर्णय विद्यार्थी आफैँले गर्नुपर्ने उहाँको भनाइ थियो ।

शाखाका अध्यक्ष नारायणप्रसाद घिमिर उपाध्यक्ष मोहिनी मिश्र र सचिव पवित्रा गुरागाईँले एसइई सकेका विद्यार्थीले बाहिरी संसार पनि नियालेर बुझ्नुपर्ने बताउनुभयो । देशको समृद्धिका लागि प्रतिफल दिने बलियो जनशक्ति अहिलेका विद्यार्थी नै भएको उहाँले औँल्याउनुभयो । महासङ्घले वर्षेनी कर्मचारीका एसइईमा सफल भएका सन्तानहरुलाई सम्मान गर्दै आएको छ । सो अवसरमा राससकर्मीले दहीचिउरा खाएर असार १५ मनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै