बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • व्यावसायिक तरकारी खेतीमा युवाको आकर्षण बढ्दो
समाचार

व्यावसायिक तरकारी खेतीमा युवाको आकर्षण बढ्दो

एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै वार्षिक रु १२ लाख जति आम्दानी गर्दै आउनुभएको छ । करीब अढाइ दशकदेखि तरकारीमा लाग्नुभएका एकनारायणले तरकारीबाट जोडेको सम्पत्ति मात्रै दुई करोडभन्दा बढी पुगेको छ । उहाँकै सिको गर्दै धाइरिङमा अहिले करीब १५० परिवारले बाह्रै महीना व्यावसायिक तरकारीखेती गर्छन् । त्यहाँका बिरलै किसानले असारमा धान रोप्छन् । धानको तुलनामा दसौँ गुणासम्म बढी आम्दानी हुने भएपछि धेरैले धान रोप्न छोडेका छन् ।

साविक धाइरिङ गाविस–४ र ५ मा करीब २०० परिवारको बस्ती छ । उनीहरु सबै व्यावसायिक तरकारीखेतीमा मात्रै निर्भर छन् । युवा, केटाकेटी र पाको उमेरका सबैजसो बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमा व्यस्त हुने गरेका छन् । नजिकैको धाइरिङ सिँचाइ आयोजनाले बस्तीभन्दा तलको समथर फाँटमा बाह्रै महीना सिँचाइ पुगेको छ । आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बीउ, रोगकिराको सहज निदान, गाउँसम्म सडकको पहुँचलगायत कारणले पछिल्ला केही वर्षयता तरकारी उत्पादनमा समस्या छैन ।

उत्पादन भएको तरकारी लिन पोखराका व्यापारी घरै पुग्छन् । अहिले यहाँका सबैजसो किसानले वर्षे धान मात्रै नभएर हिउँदका सबै बाली छोडेर तरकारी मात्रै लगाउन थालेका छन् । कुनै बेला यहाँका युवा घरायसी खर्च जुटाउनकै लागि विदेश जान्थे तर, हिजोआज त्यो बाध्यता छैन । “पहिला अहिलेजस्तो सिँचाइ थिएन । तरकारी लगाएर बेच्दा इज्जत जान्थ्यो”, स्थानीय बुद्धिप्रसाद सुवेदीले भन्नुभयो, “विदेश गएर फर्किएको भनेपछि विवाह गर्न सजिलै केटी पाइन्थ्यो । अहिले संस्कार फेरिएको छ ।”

तीन वर्ष विदेशमा बिताएका उहाँले अहिले जागरिलो युवा पाए तरकारी लगाउनकै लागि मासिक २० हजारसम्म पारिश्रमिक दिएर राख्ने बताउनुभयो । बुद्धिप्रसादले अहिले नौ रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । वर्षमा तीन सिजनको तरकारी फल्छ । डेढ दशक अघिसम्म गाउँमा आम्दानीको कुनै माध्यम नदेखेर खाडी मुलुक पुगेका यहाँका दर्जन बढी युवाले गाउँ फर्किएर गरेको प्रगति लोभलाग्दो बन्न थालेको छ ।

तरकारीको आम्दानीले बेनी, कुश्मा, बाग्लुङ, पोखरालगायत बजारमा घरघडेरी जोड्नेको सङ्ख्या ५० भन्दा बढी पुगेको किसान हरि आचार्यले बताउनुभयो । “यहाँका सबैजसोको बजारमा घर छ”, आचार्यले भन्नुभयो, “त्यो तरकारीकै आम्दानी हो । बेमौसमीमा राम्रो उत्पादन हुने भएकाले यहाँको तरकारीले बढी मूल्य पाउछ । थोरै खेतमा तरकारी लगाउनेले पनि राम्रो आम्दानी गर्छ ।”

तरकारीमा आत्मनिर्भर भएको जिल्लाकै पहिलो गाउँ हो, जलजला–७ धाइरिङ अहिले पनि तरकारीबाट अधिक आम्दानी गर्ने गाउँका रूपमा यसलाई चिनिएको छ । उक्त गाउँको व्यावसायिक तरकारीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आइरहेको छ । कृषि ज्ञान केन्द्र र जलजला गाउँपालिकाको सहकार्यमा चालू वर्षदेखि तरकारीको पकेट क्षेत्र घोषणा भएको छ । कृषकको सक्रियताले यहाँबाट वर्षेनी करोडौँ रुपैयाँ मूल्य बराबरको तरकारी निर्यात हुने गरको कृष ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

रु एक करोड बढीको काँक्रोको बीउ उत्पादन

पर्वत फलेबास नगरपालिका–११ स्थित सानो गाउँ कर्नासमा यो वर्ष रु एक करोडभन्दा बढी मूल्य बराबरको काँक्रोको बीउ उत्पादन भएको छ । व्यावसायिक रुपमा बीउ उत्पादन गर्दै आएका कर्नासका एक सय घर धुरीले रु एक करोड २० लाखभन्दा बढी मूल्य बराबरका काँक्रोको बीउ उत्पादन गरेका हुन् । एक दशकभन्दा पहिलेदेखि बीउ उत्पादन गर्दै आएको कर्नासका कृषकले खेतमा फलाउने सुन जस्तै पहेला काँक्रो कै कारण यो गाउँ ‘सुन फलाउने गाउँ’ को रुपमा परिचित छ ।

कर्नासका कृषकहरुले यस वर्ष चार टनभन्दा बढी काँक्रोको बीउ उत्पादन गरेको स्थानीवासी कृषक बाबुराम भुसालले जानकारी दिनुभयो । गत वर्ष झण्डै ५ टन उत्पादन गरेपनि अहिले चार टन उत्पादन भएको उहाँको भनाइ छ । गत वर्ष त्यहाँका कृषकले बीउ बेचेर रु डेढ करोड गाउँमा भित्र्यिाएका थिए भने यो वर्ष रु एक करोड २० लाख भित्र्याउने लक्ष्य राखेका छ । “यो वर्ष गत वर्षभन्दा केही उत्पादन घटेको छ”, उहाँले भन्नुभयो, “उत्पादन घटेपनि रु एक करोड २० लाख गाउँमा भित्रने कुरामा हामी ढुक्क छौँ ।” त्यहाँका कृषकहरुले भक्तपुर लोकल जातको काँक्रोको बीउ लगाउँदै आएका छन् ।

कर्नासमा रहेको नारायणस्थान बीउ उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले भने उत्पादित बीउ बिक्री गर्न पाएका छैनन् । गत वर्ष कृषकले व्यापारीसँग अग्रीम सम्झौता गरेर बीउ उत्पादन गरेपनि यसपटक सम्झौता भएको छैन । “बीउ उत्पादन र खरीद गर्ने सहमति भए पनि अहिलेसम्म बिक्री भएको छैन ।” सहकारीका सदस्यसमेत रहनुभएका भुसालले भन्नुभयो, “भदौ लागेपछि बिक्री गर्ने भनेर थन्क्याएका छौँ ।” कृषकले काठमाडौँस्थित कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन् ।

उनीहरुले प्रतिकिलो रु तीन हजारमा सहकारीलाई बीउ बिक्री गर्ने गर्छन् । यसपटक व्यापारीले मूल्य घटाउने खोजेका कारण उनीहरुपछि बीउ बिक्री गर्ने योजनामा छन् । काँक्रोको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाव नभएको कृषक भुसालको दाबी छ । नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्रोको बीउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ ।

“नेपालभर माग हुने बीउको दुई तिहाइभन्दा बढी हिस्सा एउटा गाउँले नै पूरा गर्दै आएको छ”, कृषक भुसालले भन्नुभयो । कर्नासमा प्रत्येक कृषक परिवारले काँक्रोको बीउ उत्पादनबाट घटीमा रु एक लाखदेखि बढीमा रु सात लाख ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । माघ महीनामा काँक्रो रोपेदेखि जेठमा बीउ निकाल्ने पाँच महीनामा एउटै परिवारले रु सात लाखसम्म भित्र्याउन सकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै