मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • शिक्षित नेपाल निर्माणको अभियानमा सरकार : मन्त्री पोखरेल
समाचार

शिक्षित नेपाल निर्माणको अभियानमा सरकार : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार शिक्षित नेपाल निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक प्रदेश एक विशेष शिक्षा विद्यालय कार्यक्रमअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय उच्च माविमा आयोजित कार्यक्रममा उहाँले अब हरेक क्षेत्रका बालबालिका विद्यालय शिक्षाको पहुँचमा आउने बताउनुभयो ।

मन्त्री पोखरेलले युगअनुसारको शिक्षा हुनुपर्ने भएका कारण अब सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक, जीवनोपयोगी तथा प्राविधिक शिक्षालाई जोड दिइने बताउनुभयो । उहाँले शिक्षाको स्तर शिक्षकको स्तरसँग जोडिने भएका कारण शिक्षकको क्षमता विकासका कार्यक्रमसमेत अघि बढाइने उल्लेख गर्नुभयो ।

सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक नरहेको स्वीकार्दै मन्त्री पोखरेलले अहिले सरकार प्रमुखरूपमा सामुदायिक विद्यालयको सुधारमा अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले सामुदायिक विद्यालयका शिक्षक, निजामती कर्मचारी, जनप्रतिनिधि सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न अपिलसमेत गर्नुभयो ।

सोही कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सुदूरपश्चिमस्तरीय विषेश शिक्षा आवासीय विद्यालय आफ्नो नगरपालिकामा बन्ने कुराले निकै खुशी दिएको बताउनुभयो । घोडाघोडीलाई शैक्षिक केन्द्र बनाउने आफ्नो सपनालाई प्रदेशस्तरीय विशेष शिक्षा आवासीय विद्यालय निर्माणले मूर्तरूप दिएको बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै