शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • नेपाली किसान वर्षाको पर्खाइमा
समाचार

नेपाली किसान वर्षाको पर्खाइमा

–राजाराम कार्की

औपचारिक रुपमा आइतबारदेखि नेपालमा धान रोपाइँ शुरु हुँदैछ । भोलि असार १५ दही चिउरा खाने दिन । चिउरा धानबाट तयार गरिने परिकार अर्थात नेपालीको प्रमुख खाद्यान्न बाली धानको महिमा र महत्व मुलुकको अर्थतन्त्रसँग पनि जोडिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसवर्ष “धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण” भन्ने मूलनाराका साथ बर्दियाको राजापुर नगरपालिका–८ धोविनीपुरबाट औपचारिक धान रोपाइँ शुरु गर्दैछ । नेपाल सरकारको २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई धान दिवस मनाउने निर्णय गरेको थियो ।

धोबिनीपुरबाट सरकारले रोपाइँ शुरु भयो भन्ने जनाउ दिन लागे पनि यसअघि एक लाख ८० हजार हेक्टर जमीनमा धान रोपाइँ भइसकेको छ । रोपाइँ हुने जमीनको जम्मा क्षेत्रफल १५ लाख ५२ हजार ४६९ हेक्टर छ । रोपाइँ गर्न योग्य जमीनमध्ये अझै ६३ प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्नसकेको छैन । यसवर्ष वर्षा ढिलो भइरहेको छ । सिँचाइ सुविधा भएको जमीनमा मात्र रोपाइँ हुँदैछ । आकासे खेतीमा निर्भर कृषक यतिखेर आकासतर्फ नै आँखा सोझ्याइरहेका छन् । ब्याडमा धानको बिऊ हुर्किसकेको छ ।

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । सरकारले धान उत्पादनलाई महत्व दिएको छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान झण्डै २८ प्रतिशतमध्ये धानको ११ प्रतिशत योगदान छ ।

भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात कम हुने छाँटकाँट देखिँदैन । यस आर्थिक वर्ष २०७५/७६ को १० महीनामा रु २७ अर्ब ९० करोड बराबरको चामल आयात भइसकेको छ । गहुँबाट तयार हुने रोटीलगायतको परिकार खाने बानी बसाल्ने हो भने खाद्यान्नमा नेपाल करीब आत्मनिर्भर छ । वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले हालको जनसङ्ख्यालाई धान्न झण्डै ६० लाख मेट्रिक टन धानको आवश्यक पर्ने बताउनुहुन्छ । गतवर्ष पुग नपुग ५३ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । नेपाल गहुँमा आत्मनिर्भर छ । पुगनपुग प्रतिवर्ष गहुँको उत्पादन १२ लाख मेट्रिक टन छ ।

नेपालको जनसङ्ख्या २०६८ सालमा गणना हुँदा दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । उक्त जनसङ्ख्यालाई हालसम्म पनि चामल पु¥याउन सकिएन भने अहिले झण्डै अनुमान गरिएको तीन करोड जनसङ्ख्यालाई चामल पु¥याउन सरकारले धानको उत्पादनमा व्यापक वृद्धि गर्न ठूलै कसरत गर्नुपर्ने देखिन्छ । नेपालमा सन् १९७० मा २३ करोड, सन् १९८० मा २४ करोड ६० लाख, सन् १९९० मा ३० करोड ५० लाख, सन् २००० मा ४० करोड २२ लाख, र सन् २०१० मा ४० करोड दुई लाख केजी धान उत्पादन भएको तथ्याङ्क छ । सन् २०२० मा झण्डै पाँच मिलियन टन अर्थात ५० करोड केजी धान उत्पादन हुने अनुमान गरिएको छ ।

नेपालमा चैते, वर्षे र घैया धानको खेती गरिन्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापालाई सरकारले धान उत्पादनको ‘सुपर जोन’ घोषण गरी लागू गरेको छ ।हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोष जनक छैन । सरकारले पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ । आव २०७८/७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ ।

विसं २०६०/६१ देखि २०७४/७५ सम्मको तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा निर्भर भएको देखिन्छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने समयमा पानी नपर्दा राम्ररी रोपाइँ नहुनु र पछि सिँचाइ नहुँदा धानको उत्पादन घटेको छ । नेपालमा कूल खेतीयोग्य जमीनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । कूल खेतीयोग्य जमीनमध्ये लगभग ५० प्रतिशत जमीनमा धानखेती हुन्छ ।

अधिकांश जमीन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन) मा वर्षा भएन भने सिफारिस भएजति जमीनमा धान रोपाइँ हुन सक्दैन । नेपालका लागि झण्डै धानका ८० जात सिफारिस भएको छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार ६३ प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालमा २०६०/६१ देखि २०७४/७५ अर्थात १५ वर्षमा सबैभन्दा धेरै धानखेती भएको वर्ष २०६०/६१ साल हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमीनमा धानखेती भएको थियो । उक्त वर्ष ४४ लाख ५५ हजार ७७२ मेट्रिक टन धान फलेको थियो ।

त्यसैगरी यहाँ सबैभन्दा कम ११ वर्षपछि २०७२/७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमीनमा धानखेती भएको थियो । सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । १५ वर्षको सेरोफेरोमा सबैभन्दा धेरै धान फलेको वर्ष २०७३/७४ सालमा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रत्येक वर्ष धानखेती गर्ने जमीन घटिरेहेको छ । २०६०/६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धानखेती भएको थियो । १५ वर्षपछि (२०७४/७५) मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमीनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै