मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • वृक्षरोपणमा भन्दा संरक्षण र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्छ- प्रधानमन्त्री ओली
समाचार

वृक्षरोपणमा भन्दा संरक्षण र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ’ गर्दै उहाँले भन्नुभयो, “हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।” उहाँले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नुभएको थियो । सरकारले यस वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने भएको छ । उहाँले वृक्षरोपण दिवस सरकारको मात्र नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको बताउनुभयो ।

“यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर बिरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनुपर्ने बताउनुभयो । आउने आर्थिक वर्षमा बढीमा पाँच करोड बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन गर्नका लागि बिरुवा रोपिएको बताउनुभयो ।

उहाँले शहरको र्सौन्दर्य र धुलोधुवाँ, प्रदूषणलाई नियन्त्रण गर्न सडक किनारामा रोपिएका बिरुवाले सहयोग पुर्याउने बताउनुभयो । उहाँका अनुसार अझै पनि ३१७ स्थानीय तह वनरहित रहेकाले ती स्थानीय तहलाई यसै आर्थिक वर्षमा हराभरा बनाइने बताउनुभयो । सरकारले उक्त दिवसका अवसरमा कोटेश्वरदेखि कलङ्कीसम्म आजदेखि वृक्षरोपणको शुरुवात गरेको छ । आगामी आर्थिक वर्षसम्म करीब दुई हजार ७०० बिरुवा रोपिने वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले रोपिएका बिरुवा महानगरपालिका, वडा कार्यालय र आफ्नो घर अगाडि रहेका बिरुवालाई सम्बन्धित स्थानीयवासीले संरक्षण गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रीगणले समेत बिरुवा रोप्नु भएको थियो । कोटेश्वर–कलङ्की सडकखण्डमा जिन्को वाइलोवा, असारे फूल, जाकारण्डा, कल्की, तेजपात, कपुर, राजवृक्ष, पैँयुलगायत बिरुवा रोपिने विभागका उपमहानिर्देशक केसीले जानकारी दिनुभयो । युवा सङ्घद्धारा आठ सय वृक्षरोपण यसैगरी युवा सङ्घ नेपालले करीब आठ सय वृक्षरोपण गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटाले ललितपुरको एकान्तकुनामा तीनजना सङ्घका सदस्यले वृक्षरोपण गरेको जानकारी गराउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै