शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बाह्रबिसे नगरपालिकाको प्राथमिकताः शिक्षा, सडक र कृषि
समाचार

बाह्रबिसे नगरपालिकाको प्राथमिकताः शिक्षा, सडक र कृषि

शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई बाह्रबिसे नगरपालिकाले प्राथमिकतामा राखेको छ । करीब रु ५२ करोड बजेटसहित नगरपालिकाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार पाँचौँ नगरसभा गर्दै नगरपालिकाले रु ५२ करोड ५० लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जहाँ विद्यार्थी त्यहाँ शिक्षकको नारासहित नगरपालिकाले स्थानीय तहमा शिक्षक दरबन्दी मिलान र समायोजनको योजना अघि सारेको छ । दरबन्दी अभावमा रहेका विद्यालयमा स्वयंसेवक शिक्षकको अवधारणसमेत नीति कार्यक्रममा ल्याइएको छ ।

स्वास्थ्य सेवामा नगरवासीको पहुँच वृद्धिका लागि घुम्ती स्वास्थ्य शिविरको नीति लिएको छ । घरदैलामै स्वास्थ्य पहुँच कार्यक्रम अन्तर्गत नगरभित्रका प्रत्येक वडामा घुम्ती स्वास्थ्यशिविर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । एक घर एक धाराको योजनादेखि एक वडा एक खेलमैदानको पनि कार्यक्रम ल्याइएको छ ।

पर्यटकीय सम्भावना बोकेका स्थानको पहिचान गर्दै पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख निमफुञ्जो शेर्पाले टुङटुङ खोला, सुङ्गुरे तथा घुँडे क्षेत्रमा ‘रक क्लाइम्बीङ’र क्यानोनिङको सम्भाव्यता अध्ययन र आवश्यक पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

युवा स्वरोजगारका लागि विदेशबाट फर्किएका र बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्दै उनीहरुका लागि स्वरोजगारमुखी सीप र तालीम दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । माटो परीक्षण गरी उपयुक्त बालीको खेती गर्दै उत्पादन वृद्धिका विषय नीति कार्यक्रममा समावेश छन् । व्यावसायिक क्षेत्रमा लाग्न चाहने युवाका लागि आवश्यक तालीम र यन्त्र उपकरणको व्यवस्था गर्ने समेत नीति लिइएको नगरप्रमुख शेर्पाले बताउनुभयो ।

कृषिक्षेत्रलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्नेमा बाह्रब्सिेले जोड दिएको छ । गाउँमै सिंहदरबारको नारालाई व्यवहारमै देखाउन नगरपालिकाले गाउँगाउँमा पुगेर सेवा प्रवाहको नीति लिएको छ । एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँ टोलमै पुगेर नगरका सेवा दिइने कुरा नीति कार्यक्रममा उल्लेख छ । दैवीप्रकोप तथा प्राकृतिक विपद्बाट पीडित व्यक्ति तथा घरलाई आगामी आर्थिक वर्षमा सम्पति कर मिनाहाको नीति लिइएको उपप्रमुख सशीला पाख्रिनले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै