बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • माध्यमिक तहको शिक्षा निःशुल्क भनिए पनि कार्यान्वयनमा आएन
समाचार

माध्यमिक तहको शिक्षा निःशुल्क भनिए पनि कार्यान्वयनमा आएन

माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा लागू हुन नसकेको कपिलवस्तु जिल्लाका अभिभावकको गुनासो रहेको छ । विद्यालयमा नियमित अनुगमन हुन नसक्नु, शिक्षक व्यवस्थापनमा समस्या देखिनु, शिक्षामा पर्याप्त मात्रामा बजेट नहुनु, मदरसा शिक्षाको व्यवस्थापनमा समस्या देखिनुलगायत गुनासो राख्दै अभिभावकले सामुदायिक विद्यालयमा अनुगमन, पठनपाठन र मूल्याङ्कन पद्धतिमा पहिला सुधार गर्नुपर्ने जोड दिएका छन् ।

सामुदायिक विद्यालयको गुणस्तर उकास्न शिक्षक, अभिभावक र जनप्रतिनिधि मिलेर काम गर्न आवश्यक रहेको कपिलवस्तुको वाणगङ्गा नगरपालिका प्रमुख मङ्गलप्रसाद थारु बताउनुहुन्छ । प्रमुख थारुले शिक्षकले चौमासिक रुपमा पाइरहेको तलब अबका दिनमा मासिक रुपमा उपलब्ध गराइने समेत उल्लेख गर्नुभयो । शिक्षाविद् डा मनप्रसाद वाग्ले कुन विद्यार्थी किन विद्यालय जान सकेको छैन भन्ने विषयमा सबैको चासो पुग्नुपर्ने बताउनुृहन्छ ।

नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माले कतिपय विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नभएको र कतिपयमा आवश्यकताभन्दा बढी शिक्षक रहेकाले यस्ता विषयमा सबै सचेत भई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जुट्नुपर्नेमा जोड दिनुुहुन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम हरेक स्थानीय तहले प्रभावकारी शिक्षा ऐननियम तर्जुमा गरी विद्यालय शिक्षामा पर्याप्त बजेटको उचित व्यवस्थापन गरे शिक्षा प्रणलीमा सुधार ल्याउन सकिने बताउनुहुन्छ ।

पूर्वसभासद् कृष्णप्रसाद सापकोटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न ठोस कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ स्थानीय तह क्रियाशील हुनुपर्नेमा जोड दिनुहुन्छ । सापकोटाले विद्यालयलाई प्रमाणपत्र मात्र दिने नभई व्यावहारिक सीप र शिक्षा दिने केन्द्रका रूपमा विकास गरेर लैजानुपर्ने बताउनुहुन्छ । जिल्लामा सामुदायिक विद्यालयमा समता र पहुँचका लागि साझेदारी कार्यक्रम शुरु भएपछि शिक्षामा सुधार आएको ग्लोबल एक्सन नेपालका निर्देशक बिके श्रेष्ठको भनाइ छ ।

समता र पहुँचका लागि साझेदारी परियोजनाले आयोजना गरेको सबैका लागि गुणस्तरीय शिक्षासम्बन्धी नीतगत संवादमा कार्यक्रममा नगर तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, किशोरकिशोरी तथा स्थानीय सामुदायिक संस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष प्रकाश सिलवाल गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै