बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा विभिन्न विधामा तीन पत्रकार सम्मानित
समाचार

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा विभिन्न विधामा तीन पत्रकार सम्मानित

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । उहाँलाई रु ३५ हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । त्यसैगरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकार त्रिभुवन पौडेल सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु २५ हजार एकसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

त्यस्तै जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, २०७५ पत्रकार गीता रानालाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु ११ हजार १११ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको सभाहलमा बिहीबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले तीनै जना पत्रकारालाई पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँले पत्रकारिता क्षेत्रको विकासमा पुरस्कार र सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुलुकमा विधि, नीति र कानूनको कार्यान्वयन गराउने क्षमता पत्रकारसँग रहेको उल्लेख गर्नुभयो । सत्य, तथ्य र मर्यादित एवं व्यावसायिक पत्रकारिताको माध्यमबाट पत्रकारले इज्जत आफैँले आर्जन गर्नुपर्दछ भन्दै उहाँले संविधानले प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारले वैकल्पिक पेशातर्फ लाग्नुको विकल्प नरहेको बताउनुभयो । पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारका संस्थापक सरस्वती भण्डारी, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, अग्रज पत्रकार बद्रीविनोद प्रतीक र कुसुम केशव पराजुली लगायतले पत्रकारिता पुरस्कारलाई व्यवस्थित गर्न निर्देशिका बनाएर वितरण गर्दै आएको जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार