बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • जग्गाको विवाद बढेपछि एएफयूको भवन बनाउन त्रिविले रोक्यो
समाचार

जग्गाको विवाद बढेपछि एएफयूको भवन बनाउन त्रिविले रोक्यो

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो ।

एएफयूका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले दुई विश्वविद्यालयबीच भएको सहमतिअनुरुपको जग्गामा भवन निर्माण गरिएकोमा त्रिविले रोकेको बताउनुभयो । उहाँले दुई विश्वविद्यालयका रजिष्ट्रारसहितको टोलीले दिएको प्रतिवेदन र त्रिविको सिनेटमा समेत बाटोछेउको जमीन एएफयुलाई दिने भनी गरिएको निर्णयअनुसार सोही ठाउँमा भवन निर्माण थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद्ले रामपुरको तीन सय ३८ विघा जमीनमध्ये ४० विघा १९ कठ्ठा त्रिविलाई इञ्जिनियरीङ कलेज निर्माण गर्न दिने र हेटौँडाको एक सय ५८ विघा जमीनमध्ये ६० विगाहा एएफयूलाई दिने निर्णय भएको थियो । रामपुरमा त्रिविलाई भवन निर्माण गर्न रु १५ करोड र हेटौँडामा एएफयूलाई भवन निर्माण गर्न सोही बराबरको रकम दिने निर्णय भएको ढकालले बताउनुभयो । दुई विश्व्विद्यालयबीच रामपुरमा त्रिविलाई र हेटौँडामा एएफयूलाई बाटो छेउमा जमीन दिने सहमति भएको ढकालको भनाइ छ ।

तर त्रिविका उपकुलपति प्रा.डा. तिर्थ खनियाले हेटौँडामा एएफयूलाई बाटो छेउमा नभएर बाटो दिएर भित्र जमीन दिने निर्णय भएको भए पनि एएफयूले त्रिविको जमीनमा भवन बनाउन सुरु गरेका कारण काम रोकिएको बताउनुभयो । त्रिवि सरकारको र सिनेटको निर्णय मान्न तयार रहेको भन्दै उहाँले एएफयूले सहमतिअनुसार भवन निर्माण गर्नुपर्ने बताउनुभयो । सो स्थानमा एएफयूले रु.नौ करोड ८८ लाखमा शैक्षिक भवन निर्माणको काम सुरु गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार