शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • दुई दाजुबहिनीको पाँच वर्षदेखि गोठमा बास
समाचार

दुई दाजुबहिनीको पाँच वर्षदेखि गोठमा बास

– ध्रुबसागर शर्मा

“दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”

साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा । कविताको हरफले त मुकुन्द इन्दिराको घर त रहेछ भन्ने अर्थ दिएको छ, तर भण्डारी दाजुबहिनीको त घरसमेत नहुँदा अर्काको गोठमा दाउराको सिरानी र परालको सिरक ओडेर बाँच्नुपर्ने बाध्यता छ । भण्डारी दाजुबहिनी विगत पाँच वर्षदेखि पशुचौपायालाई बनाइएको गोठमा बस्दै आउनुभएको छ ।

भत्किने अवस्थामा रहेको गोठभित्र रहेको पराललाई ओड्ने सिरक, वनजङ्गलबाट ल्याएको दाउरालाई सिरानी बनाएर उहाँहरु सुत्नुहुन्छ । गोठभित्र कुनामा रहेको अँगेना मुस्किलले दुई/चार दिनमा एकपटक बल्छ । पुराना भाँडाकुँडा चुहिने अवस्थामा छन् भने एकछाक पकाउने चामलसमेत छैन । छिमेकीले पकाएर दिएको भातकै भरमा रात कटाउने गरेका दाजुबहिनीले पेटभरि भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् ।

गाउँकै विपन्न भण्डारी दाजुबहिनीलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिनुभएको छ । गर्मी मौसममा नजिकै पशुचौपाया भएकाले पनि लामखुट्टेबाट जोगिन आगो बाल्ने गर्नुहुन्छ भण्डारी दाजुबहिनी । “खानेकुरा केही छैन्, बस्ने बास छैन, दाई बिरामी छन्”, गोठमा प्रवेश गर्नेबित्तिकै घमिष्टाले भन्नुभयो । उहाँले एक सातादेखि वनजङ्गलबाट ल्याएको तरकारी र गाउँबाट मागेर ल्याएको भात खाएको बताउँदै बिरामी दाइलाई उपचार गर्ने पैसासमेत नभएको बताउनुभयो ।

गोठभित्र सुत्ने र खाना पकाउनेभन्दा पनि पराल, पुराना कपडा र दाउरामै रात बिताउने गरेको र बिहानै गाउँलेको काममा निस्किएर बेलुकी केही खानेकुरा ल्याउने गरेको स्थानीयवासी धनवती गिरीले जानकारी दिनुभयो । “अलपत्र अवस्थामा मैले बस्ने ठाउँ दिएको छु, मेरो पनि आर्थिक अवस्था कमजोर नै भएकाले उनीहरूलाई आवश्यक केही सहयोग गर्न सकेको छैन”, उहाँले भन्नुभयो ।

विसं २०७२ वैशाखमा गएको भूकम्पमा चर्किएको गोठमा बस्न बाध्य भण्डारी दम्पत्तीलाई बाह्रै महीना समस्या हुनेगरेको स्थानीयवासीको भनाइ छ । “न्यानो लुगा र बाक्लो सिरक ओढ्ने सपनाजस्तै छ, छेउमै पशुचौपायाको गोठ भएकाले गर्मी महीनामा पनि रात काट्न मुस्किल हुन्छ”, घमिष्टाको भनाइ उद्धित गर्दै एक स्थानीयवासीले भने ।

घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गर्न सक्नुहुन्न । भोक लागेर चिच्याउन थालेपछि स्थानीयवासीले समेत केही खानेकुरा दिने गरेका छन् । पशुसरह जीवन जिउन बाध्य भण्डारी दाजुबहिनीलाई सानो बस्ने घर र सम्मानयुक्त जीवन स्थापित गर्न स्थानीयवासीले सहयोगको याचना गरेका छन् । खान, बस्न र बाँच्न पाउने अधिकारबाट समेत वञ्चित भएका भण्डारीलाई तत्काल गोठबाट सुरक्षित घरमा सार्न खाद्यान्न र लत्ताकपडाको आवश्यकता देखिएको छ ।

शिशुको पालनपोषणका सात लाख सहयोग

जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि मोना जापानले करीब रु सात लाख आर्थिक सहयोग गरेको छ । मोना जापानले सङ्कलन गरेको रु ६ लाख ७७ हजार ७८८ शिशु प्रसिद्धी दर्जीको नाममा गरिमा विकास बैंकको केन्द्रीय कार्यालयमा रहेको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

“पालनपोषणदेखि शिक्षादीक्षामा खर्च गर्ने गरी मुद्दती खातामा राखिएको छ, आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौँ”, श्रेष्ठले भन्नुभयोे । रोजगारको सिलसिलामा जापान पुगेकी दर्जी ब्रेनट्युमर रोगबाट ग्रसित हुनुहुन्थ्यो । दर्जीको मृत्युपछि एक महीनाको शिशुलाई नेपालमा ल्याइएको थियो । उपचार तथा अन्त्येष्टिसम्म मोना जापान र क्षेत्रीय समिति नागोयाबाट आर्थिक तथा आवश्यक कानूनी प्रक्रियामा समेत सहयोग गरिएको थियो ।

मोना जापानका अध्यक्ष दीपक केसीले अस्पतालको श्ययामै एक म्याग्देली चेलीलाई गुमाउनुको पीडालाई नजिकबाट हेरेको बताउँदै सहयोगलाई बालिकाको शिक्षादीक्षा र पालानपोषणमै खर्च गरिने बताउनुभयो । “जन्मदिने आमालाई गुमाएकी बालिकालाई आर्थिक अभाव हुन नदिने गरी सहयोग जुटाएका छौँ”, केसीले भन्नुभयो ।

केसीले सङ्कलन गरिएको आर्थिक सहयोगलाई मोना जापानको प्रतिनिधिसहित आफन्तको नाममा बैंकमा राखिएको बताउँदै भविष्यमा थप कार्यविधि बनाएर बालिकाको हितमै खर्च गर्ने जानकारी दिनुभयो । बैंकमा मोना जापानको तर्फबाट चित्रबहादुर केसी, शिशुको तर्फबाट मामा र अर्का आफन्त गरी तीन जनाको नाममा खाता सञ्चालन गरिएको छ । यस अगाडि मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाले रु ८९ हजार सहयोग हस्तान्तरण गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार