आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • ‘एक्लाएक्लै हिँडेर समृद्धि सम्भव छैन’
समाचार

‘एक्लाएक्लै हिँडेर समृद्धि सम्भव छैन’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको आज दुलेगौडामा आयोजित पाँचौँ नगरसभालाई सम्बोधन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले तीन तहका सरकारको लक्ष्य र उद्देश्य एउटै भएकोले सबै सरकारहरु एउटै दिशामा हिँड्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “प्रधानमन्त्री केपी ओली, सात वटा मुख्यमन्त्री र ७५३ वटा स्थानीय तहका प्रमुख एउटै डुङ्गामा सवार छाँै, सबैको सहकार्य भए मात्रै डुङ्गा पार लगाउन सक्छौँ, विकासका सवालमा पनि सबै एक हुन आवश्यक छ ।” उहाँले तीन तहका सरकारको कदम एउटै भए अबका दश वर्षभित्र मुलुकमा चमत्कार हुने दाबी गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा आधारित भएर बजेट ल्याउनुपर्नेमा जोड दिँदै धेरै स्थानीय तहले नीति र बजेट एकसाथ पेश गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला नीति तथा कार्यक्रम ल्याउने, त्यसमाथि छलफल गर्ने र नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने पद्धति हो । तर केही स्थानीय तहहरुले पद्धति अनुसरण गर्न सकेनन् ।”

केन्द्र सरकारको भर पर्नुभन्दा स्थानीय तहले आम्दानीको स्रोत बढाउनुपर्नेमा सुझाव दिँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि करको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभयो । प्रदेश सांसद आशा कोइरालाले गरीबी र बेरोजगारी विकासको बाधक रहेकोले स्थानीय तहहरुले गरीबी र बेरोजगारी निवारणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नगरपालिकाका उपप्रमुख सविता रसाइलीले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । प्रत्येक वडाका टोलमा पुगेर जनताका आवश्यकता र मागलाई प्राथमिकतामा राखेर योजना छनौट गरिएको उपप्रमुख रसाइलीले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै