शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • बुटवल उपमहानगरः भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकता
समाचार

बुटवल उपमहानगरः भौतिक पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकता

– निरा गौतम

शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालीन उद्देश्य राखेर प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाको विकासलाई प्राथमिकतामा राखिएको छ । उपमहानगरको पाँचौं नगरसभामा आज आर्थिक वर्ष ०७६/७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष शुरु भएको उल्लेख गर्नुभयो ।
‘मेगा सिटी’को अवधारणा

बुटवल उप–महानगरपालिका र आसपासका नगर तथा गाउँपालिकासँग समन्वय र सहकार्य गर्दै यस क्षेत्रलाई ‘मेगा सिटी’को रुपमा विकास गरिने भएको छ । मेगासिटीको आधार तयार पार्ने काम यसै वर्षदेखि नै शुरु गरिनेभएको छ । समग्र नगर क्षेत्रका सार्वजनिक जग्गाको पहिचान तथा लागत तयार गरी संरक्षण गर्न वडासमिति र समुदायलाई थप जिम्मेवार र सक्रिय बनाइने नीति लिइएको छ

‘रामापिथेकश जिओलोजिकल’ र ‘बोटानिकल गार्डेन’ बनाइने

बुटवलले यहाँका वनलाई थप संरक्षण र संवद्र्धन गर्दै नागरिकको जीविकोपार्जनसँग जोड्ने भएको छ । त्यसका लागि वन क्षेत्रमा अध्यय्न तथा अनुसन्धान केन्द्र हुँदै पर्यापर्यटनका रुपमा विकास गरिने भएको छ । सङ्घीय तथा प्रदेश सरकारसँगको सहकार्यमा शिवनगर सामुदायिक वन क्षेत्रमा रामापिथेकश जिओलोजिकल पार्क र सिद्धबाबा धार्मिक वनलाई रामापिथेकश बोटानिकल गार्डेनको रुपमा विकास गरिने भएको छ । बुटवलले ‘एक घर–दुई विरुवा तथा एक वडा–एक हरियाली पार्क’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बुटवल ऐतिहासिक पर्यटकीय नगरी पनि हो । यहाँको पर्यटन विकासका लागि बुटवल उपमहानगरले विशेष नीति बनाउने भएको छ । क्याम्पसको सहकार्यमा टुरिष्ट गाइड उत्पादन गर्ने कार्यक्रम पनि तयार गरिनेछ । । “हाम्रो बुटवल सुरक्षित बुटवल” लाई साकार पार्न तिनाउ नदीमा तटबन्धसहितको तिनाउ करीडोर निर्माण गर्न सङ्घीय सरकारसँग सहकार्य गरिनेछ । जलपर्यटन विकासको लागि उपयुक्त स्थानमा संभाव्यता अध्ययन शुरु भएको नीति कार्यक्रममा उल्लेख छ । बुटवलदेखि वसन्तपुर र ऐतिहासिक नुवाकोटगढीसम्म केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढेको छ ।

बधशाला निर्माण यसै वर्ष

बहुप्रतिक्षित पशु बधशाला निर्माणका लागि यसैवर्षदेखि काम शुरु हुने भएको छ । यस्का लागि बुटवलले प्रदेश सरकारसँगको संयुक्त लगानी र निजी तथा गैर सरकारी क्षेत्र समेतको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । बुटवलमा बन्ने बधशाला प्रदेशस्तरको हुने छ । यसैवर्ष आधुनिक पशु बधशाला निर्माण कार्य प्रारम्भ गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि कार्यक्रम

बुटवलले नगरको आर्थिक विकासको मुख्य आधारका रुपमा कृषिलाई लिएको छ । यस्का लागि कृषि उत्पादन, दुग्ध उत्पादन र मासुजन्य उत्पादनका लागि उत्पादक सहकारीसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने भएको छ । एक वडा एक उत्पादनको नीतिअनुरुप उत्पादित वस्तु तथा सेवालाई बजारीकरण गर्नसमेत बुटवलले सहयोग गर्नेभएको छ । शहरी क्षेत्रमा विषादीरहित ताजा तरकारी उत्पादन कार्यक्रमका लागि कौसीखेती प्रवद्र्धन तथा पुष्पखेती कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कृषि विकास “के पाइन्छ होइन के चाँहिन्छ” भन्ने नीति अनुरुप मागमा आधारित कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । बुटवललाई तीन वर्षभित्र बेरोजगारी–शून्य नगर बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइने भएको छ । यसको लागि रोजगारी सिर्जना गर्ने संस्थाहरुको लगत सङ्कलन गर्ने, ती संस्थालाई चाहिने उचित प्रोत्साहनको आवधिकमापन गर्ने र त्यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा सङ्कलित बेरोजगारको तथ्याङ्कसँग राखेर उचित नीति नियम तर्जुमा गरिने भएको छ ।

महिला, शिशु र ज्येष्ठ नागरिक

‘श्रमिक महिलाहरुको आवश्यकता र शिशुको स्याहार पाउने हक’ लाई ख्याल गर्दै नगरक्षेत्रभित्र कम्तीमा २५ सिट क्षमताको शिशु स्याहार केन्द्र सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई प्रोत्साहन गरिने भएको छ । आश्रय आवश्यकपर्ने पीडित बालबालिकाको लागि सुरक्षित आवासको व्यवस्था मिलाइनेछ । निकृष्ट प्रकारको बालश्रमलाई निषेध गरिने भएको छ । ज्येष्ठ नागरिकको दिनचर्यालाई सहज र सक्रिय बनाउन “ज्येष्ठ नागरिकः एक वडा, एक मिलन केन्द्र” सञ्चालनका लागि विभिन्न सङ्घ संस्थासँग सहकार्य गरिनेछ । नगरबाट प्रदान गरिने सेवामा असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अशक्तलाई सेवामा अग्रधिकार दिइने भएको छ ।

प्राविधिक शिक्षामा जोड

बुटवललाई शैक्षिक क्षेत्रको हबको रुपमा विकास गर्ने तथा बुटवलमा इञ्जिनीयरिङ कलेज स्थापना गरी दक्षप्राविधिक जनशक्ति उत्पादन गर्न प्रथम चरणमा बुटवल टेक्निकल इन्स्टिच्यूटको पूनःसंरचनामा जोड दिँदै सङ्घ, प्रदेश तथा विकास साझेदारको सहकार्यमा प्राविधिक शिक्षालाई अगाडि बढाइने भएको छ । बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्व विद्यालयको केन्द्रीय क्याम्पसको रुपमा विकास गर्न सङ्घ तथा प्रदेश सरकारसँग सहकार्य गरिने भएको छ । बुटवल बहुमुखी क्याम्पसमा रामापिथेकस सामाजिक प्रयोगशाला स्थापना गर्न सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरिने भएको छ ।

लगानी सम्मेलन गरिने

लगानीमैत्री व्यवसाय प्रर्वद्धनका लागि तथा सार्वजनिक निजी साझेदारी अन्तर्गतका आयोजनाका लागि लगानी सम्मेलनको आयोजना गरिने भएको छ । व्यावसायिक प्रतिष्ठान तथा कम्पनीको सहयोगमा नगरमा छुट्टै ‘सामाजिक उत्तर दायित्व कोष’को स्थापना गरिने भएको छ । उक्त कोषको रकम सरोकारवाला समेतको सहभागितमा सञ्चालन गर्ने गरी कार्यविधि निर्माण गरिने छ ।

अधुरा आयोजना, जनताको प्रत्यक्ष सरोकार सम्बोधन हुने, स्थानीय श्रम, सीप र स्रोतको प्रयोग हुने आयोजनालाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकासमा बढी भन्दा बढी जनसहभागिता जुटाउन प्रतिस्पर्धामा आधारित जनसहभागितामूलक पूर्वाधार विकास कार्यव्रmम सञ्चालन गरिने भएको छ । ‘हाम्रो सडक–हाम्रो सहभागितास्तरीय सडक–हाम्रो प्रतिबद्धता’ अनुरुप सडक सुधारका कार्यलाई निरन्तरता दिइनेछ । नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगरबस सेवा सञ्चालनका लागि समन्वय गरिनेछ ।

फोहर व्यवस्थापन

बुटवलले जथाभावी फोहर फाल्न रोक लगाएको छ भने घरैदेखि फोहरको प्रकृत्ति छुट्टाएर व्यवस्थापन गरिने भएको छ । त्यस्का लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिने भएको छ । जैविक फोहरबाट घरैमा कम्पोष्ट मल बनाउन प्रेरित गरी गमला, कौशी, छत, करेसाबारीमा तरकारीखेती गर्न प्रोत्साहित गरिनेछ ।

बजार क्षेत्रमा मोबाइल शौचालय व्यवस्थाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधि आव २०७६/७७ को भाद्र महीनाभित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । नीति कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न सकिएमा ‘समृद्ध बुटवल सुखी बुटवलवासी’ को अभियानमा थप इट्टा थप्दै ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ को लक्ष्य प्राप्त गर्न सकिने र पर्यटन, कृषि, उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य तथा यातायात र सञ्चारको हवको रुपमा बुटवल स्थापित हुने प्रमुख सुवेदीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार