सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • प्रजातान्त्रिक योद्धा थापाको निधन
समाचार

प्रजातान्त्रिक योद्धा थापाको निधन

महोत्तरी जिल्लाका पुराना राजनीतिक, सामाजिक कार्यकर्ता गङ्गाविक्रम थापाको ७२ वर्षको उमेरमा निधन भएको छ । जिल्लाको औरही नगरपालिकाको सोनामाई टिम्कीयामा जन्मेर त्यहीँबाटै राजनीतिक गतिविधि थाल्नुभएका थापाको गएराति काठमाडौँमा निधन भएको परिवारजनले जानकारी दिएका हुन् ।

विसं २००४ मा जन्मनु भएका थापा किशोरावस्थादेखि नै नेपालको वामपन्थी आन्दोलनमा सरिक हुनुभएको थियो । पछिल्लो समय स्वास्थ्यका कारण थापा काठमाडौँ बस्दै आउनुभएको थियो । शुक्रबार स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको भतिजा कुमुदविक्रम थापाले जानकारी दिनुभयो ।

पञ्चायतकालमा जनपक्षीय उमेदवार भई महोत्तरीको तत्कालीन सोनामाई गाउँ पञ्चायतको प्रधानपञ्च र भाहा गाउँ पञ्चायतको उपप्रधानपञ्च रहनुभएका थापा लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समूह) को जिल्ला प्रमुख हुनुहुन्थ्यो । विसं २०४६ को आन्दोलन भने राष्ट्रियताविरुद्ध रहेको बताउँदै थापाले कम्युनिष्ट पार्टीसँगको सम्बन्ध तोड्नुभएको थियो । स्व थापाको काठमाडौँ पशुपतिमा आजै अन्तेष्टि गरिएको परिवारजनले बताएका छन् । स्व थापाका एक श्रीमती र सात छोरी छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै