मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
समाचार

सहिद पिताको निधन

काठमाडौँ, वैशाख १३ प्रजातान्त्रिक आन्दोलनका सहिद खगेन्द्र दाहालका पिता डिल्लीराम दाहालको ८९ वर्षको उमेरमा सहिद गङ्गालाल हृदयरोग अस्पताल, बाँसबारीमा उपचारका क्रममा आज निधन भएको छ । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका पत्नी,दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन वरुणेश्वर–१ (हाल मोलुङ गापा–२) बाट खगेन्द्र दाहाल प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा दलविहीन पञ्चायती व्यवस्थाको विरोधका क्रममा जेल पर्नुभएको थियो । विसं २०३१ असोज १३ गते जेल सार्ने निहुँमा पञ्चायती शासनले उहाँको बर्वरतपूर्ण हत्या गरेको थियो । वरुणेश्वर सहिद भूमिका रुपमा परिचित रहेको छ ।

मृतक डिल्लीराम दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् । उहाँका माइला छोरा फणीन्द्र दाहालले स्वर्गीय डिल्लीरामको पार्थिव शरिरमा दागबत्ती दिनुभएको थियो । उहाँलाई ओखलढुङ्गा जिल्लाका पूर्वमन्त्री, विभिन्न पार्टीका नेता ,प्रतिनिधिसभा सदस्य तथा आफन्तजनले अन्तिम श्रद्धाञ्जली दिनुभएको प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।(रासस)

चर्चामा

सम्बन्धित समाचार