बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • म्याग्दीका एक युवाले भने कोरोनाको कहरलाई पनि अवसरमा परिणत गर्न सकिन्छ ! गरे डोको बुनेर २५ हजार भन्दा बढी आम्दानी
अर्थ/वाणिज्य

म्याग्दीका एक युवाले भने कोरोनाको कहरलाई पनि अवसरमा परिणत गर्न सकिन्छ ! गरे डोको बुनेर २५ हजार भन्दा बढी आम्दानी

—धु्रबसागर शर्मा

गलेश्वर, ११ वैशाखः कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरेको छ । लामो समयसम्मको लकडाउनका कारण शहरबजार र गाउँघरका मानिसहरु घरभित्रै बस्नुपर्दा अतास्सिएका छन् । कोरोनाको कहरले कतिपय मानिसहरु आफ्नो पेशा, व्यवसाय वा दैनिकीमा नै ठूलो समस्या उत्पन्न गरिदिएको बताइरहँदा म्याग्दीका एक युवाले भने कोरोनाको कहरलाई पनि अवसरमा परिणत गरेका छन् । म्याग्दीको बेनी नगरपालिका—२ ज्यामरुककोटका विक्रम बोहोरा लकडाउनलाई अवसरका रुपमा उपयोग गर्न जान्नुपर्छ भन्ने भनाइलाई आत्मसात गर्नुभएको छ । शहर बजारका मानिसहरु घरबाट बाहिर निस्कन नपाएको गुनासो गरिरहेका बेला बोहोराले भने बाँस र निगाँलाबाट बन्ने कृषि कर्ममा प्रयोग हुने नेपाली मौलिक सामग्री बनाउन व्यस्त हुनुहुन्छ । उहाँले बाँस र निगाँलाबाट बन्ने थुन्से, भकारी, चित्रा, मान्द्रो, पेटारो (पिरिङ्गो), नाङ्गलो, सोली, कोर्को, डोका, स्याखुलगायत विभिन्न सामग्री बनाई त्यसको बिक्रीबाट घरमै बसीबसी राम्रो आम्दानी गरिरहनुभएको छ । लकडाउनको एक महिनासम्म घरमा नै बसेर उहाँले ती सामग्री बिक्री गरी रु २५ हजार भन्दा बढी आम्दानी गरेको बताउनुभयो ।

त्यसका अतिरिक्त उहाँले बुनेका चोयाका सामग्री फोहोर सङ्कलनका लागि गाउँका टोलटोलमा राखिएको र त्यो सबै उहाँले निःशुल्क दिनुभएको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो । लकडाउनको अवधिमा डोको, स्याखु, चाङ, नाम्लो, फुर्लुङ, पेटार्रोे टोकरो बनाएको बोहोराले बताउनुभयो । “जताततै कोरोनाको त्रास छ, गाउँमा डुल्नु पनि भएन, खाली के बस्नु भनेर आफूले बाँस र निगाँलो खोजेर चोया काढि कृषि कर्ममा प्रयोग हुने सामग्रीहरु बनाउन थालेको हुँ”, उहाँले भन्नुभयो, “दिन कटाउन पनि सजिलो भएको छ, आम्दानी पनि भएको छ ।” त्यसो त, बोहोराले लोपोन्मुख अवस्थामा रहेको स्याखु पनि बनाउनुभएको छ । “हाम्रा हजुरबुवा आमाको पालामा छाताको विकल्पमा स्याखुको प्रयोग गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले यसको प्रयोग हराएको छ, आफ्ना पुर्खाको पुख्र्यौली सीप र सामग्रीको संरक्षण गर्न मैले स्याखु बुनेको हुँ, बिक्रीका लागि होइन ।”

पहिला पहिला मेलापात जाँदा स्याखु ओढ्ने गरिन्थ्यो । स्याखु चोयाबाट बुनिएको हुन्छ भने भित्री पाटोमा कटुसका पात वा प्लाष्टिकले मोडेर पानी छिर्न नसक्नेगरी बनाइएको हुन्छ । जसले टाउकोदेखि कम्मरसम्मको भागलाई छोप्ने गर्दछ । दक्ष व्यक्तिले मात्र स्याखु बनाउन सक्छन । बोहोराले भन्नुभयो, “नाम्ला, डोका, थुन्से लगायतका सामग्री बनाउन मलाई, मेरो बाबाले सिकाउनुभएको थियो । हाम्रो संस्कृति र परम्परा बोकेको पुख्र्यौली पेशा र बुवाको सीपलाई निरन्तरता दिनेछु ।” गाउँघरमै सजिलै पाइने बाँस र निगाँला काटेर, केही दिन पानीमा ढडाएपछि चोया काढेर यी सामग्री बनाउने सकिने उहाँले बताउनुभयो । सबै आ—आफनै घरघरमा लकडाउनमा बसेका समयलाई उहाँले भने आफनो सीप ‘पुस्तान्तरण’को अवसर ठान्दै उपयोग गरेका छन् । लकडाउनको समयमा बाहिर ननिस्कन र घरमा नै बसेर विभिन्न रचनात्मक र सिर्जनशील कामहरु गर्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।

कोरोना रोकथाम कोषमा रु एक करोड
बेनी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि रु एक करोडको कोष खडा गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनसंगै पहिलो पटक नगरपालिकाले रु पचास लाख र दोस्रो पटक थप रु ५० लाख गरी कूल रु एक करोडको कोष स्थापना गरेको हो । यसलाई बेनी नगरपालिका कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष नाम दिइएको छ । यसैबीच नगरपालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन वार्ड निर्माण, क्वारेनटाइन सञ्चालन र गरिब तथा विपन्न परिवारको राहतसंगै आवश्यक सामग्री खरिद गर्न बजेटको व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना उपचारलाई लक्षित गरि जिल्ला कमाण्ड पोष्टको निर्णयानुसार नगरपालिकाबाट १० शय्या क्षमताको आइसोलेसन कक्ष निर्माणमा बजेट विनियोजन गर्ने निर्णय भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कोरोना रोकथाम कमाण्ड पोष्टले बेनीमा २० शय्या क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडा स्तरमा राहत वितरण, स्वयंसेवक परिचालन समेत गर्दै आएको छ । यसअघि नगरपालिकाले बेनी अस्पताललाई रु पाँच लाख सहयोग गर्नुका साथै न्यू वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० शय्याको क्वारेन्टाइन स्थापना, विदेशबाट आएकालाई एकान्तबासमा राख्ने, बजार क्षेत्रमा क्लोरिन छर्कने लगायतका काम गरेको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार