बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • मिर्गौलापीडितको घरमै डाक्टर पुगेपछि…
समाचार

मिर्गौलापीडितको घरमै डाक्टर पुगेपछि…

साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डा पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने बिरामी जाँच गर्न भ्याइनभ्याई हुन्छ । बाहिरी दुनियाँभन्दा बिरामीको उपचारमा डा श्रेष्ठको दिन बित्ने गर्छ । डा श्रेष्ठलाई सामाजिक सञ्जाल हेर्ने फुर्सद बिरलै हुन्छ । त्यसो त उहाँ फुर्सदमा इन्टरनेटमा समाचार खोज्ने गर्नुहुन्छ ।

बुधबार बिहानै डा श्रेष्ठले आफ्नो मोबाइल चलाउँदै जाँदा विभिन्न अनलाइन सञ्चारमाध्यममा पुग्नुभयो । कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित दिदीको घरमा बस्दै आउनुभएका मिर्गाैलापीडित हेमन्तसिंह ठकुरीका बारेमा राससमा प्रकाशित समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएसँगै डा श्रेष्ठलाई खुल्दुली लाग्यो । मिर्गाैला रोग विशेषज्ञ डा श्रेष्ठले समाचार पढेपछि बिहीबार मिर्गाैलापीडित हेमन्तकै घरमा पुग्नुभयो ।

डा श्रेष्ठले मिर्गाैलापीडित हेमन्तसँग करीब एक घण्टा बिताउनुभयो । उहाँले पीडित हेमन्त र उहाँकी दिदी सुमित्रासिंह ठकुरीसँग जिज्ञासा राख्दै बिरामीको अवस्था, उपचारलगायतका विषयमा सोध्नुभएको थियो । सो क्रममा डा श्रेष्ठले पीडित हेमन्तको स्वास्थ्य जाँचसमेत गर्नुभएको थियो । डा श्रेष्ठले उपचारका लागि आफ्नो सबै सहयोग तथा निगरानीमा राख्ने बताएपछि हेमन्तको अनुहारमा मुस्कान देखिएको थियो ।

स्वास्थ्य बिग्रिँदै गएपछि उठबस गर्नसमेत समस्या भइरहेका बेला राससमा समाचार प्रकाशित भएपछि हेमन्तको स्वास्थ्य अवस्था बारेमा चासो राख्दै डा श्रेष्ठ घरमै पुगेपछि आफ्नो घरमा भगवान् पुगेजस्तो महसुस भएको मिर्गाैलापीडित हेमन्तले बताउनुभयो । उहँँले भन्नुभयो, “मिडियाकै कारण डाक्टरसा’ब मेरो घरमा पुग्नुभयो । मलाई देउता नै घरमा पुगेजस्तो लागेको छ । उहाँ त भगवान्नै हुनुहुँदोरहेछ ।”

डा श्रेष्ठसँगै नेपालगञ्जको एशोदा फार्मेसी र एशोदा इन्दे्रणी डाइग्नोष्टिकका सञ्चालक रोशन केसी, स्वास्थ्य प्राविधिक किरण चौधरी पनि हेमन्तको घरमा पुग्नुभएको थियो । उहाँहरुले उपचारका क्रममा लाग्ने औषधि तथा अन्य परीक्षण शुल्क व्यहोर्ने बताउनुभएको छ । “हेमन्तको उपचारका लागि आफूहरुका तर्फबाट पूर्ण सहयोग हुन्छ”, फार्मेसी सञ्चालकद्वयले भन्नुभयो, “हामीले ल्याब परीक्षणका लागि हेमन्तको रगतको नमूना पनि लिएका छौँ ।”

हेमन्तले औषधि र खानेकुरा समय मिलाएर खाने गरे एक महीनामै हिँड्डुल गर्नसक्ने डा श्रेष्ठले बताउनुभयो । हेमन्तसँग करीब एक घण्टा बिताएका डा श्रेष्ठले उपचारमा चिन्ता नगर्न आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “हेमन्त तिमीले चिन्ता नगर्नु, हामी सञ्चो बनाउँछौँ”, डा श्रेष्ठ मिर्गाैलापीडित हेमन्तलाई फेरि भेट्ने वाचा गर्दै नेपालगञ्ज फर्किनुभएको थियो ।

हेमन्तकी दिदी सुमित्राले भन्नुभयो, “भाइको उपचारमा आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका थियौँ । भाइले मृत्युलाई कुरिरहेको छ, यहीबेला डाक्टर सा’ब भगवान् बनेर घरमै आउनुभएको छ । अब भाइलाई निको हुन्छ भन्ने आशा पलाएको छ ।” हेमन्तको उपचारमा पूर्ण सहयोग हुने बताउँदै एशोदा फार्मेसीका प्रोप्राइटर स्नेहा थापाले भन्नुभयो, “औषधि र ल्याब खर्च हामीले व्यहोर्छौँ, यो हाम्रो जिम्मेवारी हो, कसैको जीवनरक्षा हुन्छ भने सहयोग गर्नुपर्छ ।”

कामको सिलसिलामा गत कात्तिकमा पोखरा गएको १७ दिनपछि बिरामी भएर काम गर्न नसकेपछि घर फर्किएसँगै २८ वर्षीय हेमन्तलाई भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो । गत मङ्सिर ७ गते भेरी अस्पतालले दुवै मिर्गौला फेल भएको जानकारी गराएसँगै उपचारका लागि आर्थिक अभाव झेलिरहेको हेमन्तको परिवारमा चिकित्सक घरमै पुगेसँगै खुशीयाली छाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै