मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • कोभिड १९ प्रभाव–‘बिक्दैन अण्डा, पाइँदैन दाना’
अर्थ/वाणिज्य

कोभिड १९ प्रभाव–‘बिक्दैन अण्डा, पाइँदैन दाना’

–टीकाराम पोख्रेल

प्यूठान, ८ वैशाखः प्यूठानको सरुमारानी गाउँपालिका– १ बाङ्गेशालको एकता पोल्ट्री फार्ममा चार हजार ५०० कुखुरा छन् । रु ८५ लाखको लगानीमा यहाँका युवा प्रकाश आचार्यले सञ्चालन गरेको फार्ममा दैनिक चार क्विन्टल दाना खपत हुन्छ । दैनिक २१० वटा अण्डा प्रतिपेटी हुनेगरी २० पेटी अण्डा उत्पादन हुँदै आएको छ । सो फार्ममा अहिले अण्डा ६५ पेटी छ तर दाना छैन । दैनिकरुपमा खुवाउने दाना नभएपछि फार्मले खुला चउरमा कुखुरा चराउन थालेको छ । दाना किन्नका लागि चाहिने नगद नभएपछि भारतीयले दाना आपूर्ति नगर्दा माउन्टेन विधिबाट कुखुरा पाल्ने उपाय खोजिएको छ ।

करिब १५ दिनमा दानामा पाइने तत्वको प्रतिशत घटाउँदै खुला चरनबाट कुखुरालाई बचाउने विधि माउन्टेन विधि हो । केही महिनाअघि सरकारले दानाको मूल्य बढाएको थियो । दानाको मूल्य बढे पनि अण्डाको मूल्य नबढ्दा निरास देखिएका व्यवसायीले लागत घटाउन खोरको क्षमताअनुसार कुखुराको सङ्ख्या बढाएको फार्मका सञ्चालक आचार्यले बताउनुभयो ।

प्यूठान– १ दाखाक्वाडीको प्रगतिशील पोल्ट्री तथा कृषि फार्ममा अण्डा दिने १० हजार हाइलाइन र लोम्यान जात लेयर्सलाई पनि दाना सङ्कट परेको छ । बन्दाबन्दीको समयमा अण्डा फार्ममै थन्किएपछि नगद कारोवार गर्न नसक्दा दानालाई चाहिने तत्व खरिद गर्न सकिएको छैन । कोल्चेन अर्थात् चिस्यान घरको व्यवस्थापन नभए १५ देखि ३० दिनमा अण्डा बिग्रिन थाल्दछ । यही समस्या फार्ममा देखिन थालेको छ ।

हाल खोरमा रहेको कुखुरामा रु एक करोड ११ लाख जति खर्च भइसकेको छ । अण्डा उत्पादनको पहिलो चरणमा नै अण्डा बिक्री गर्न नपाएपछि व्यवसाय नै धरापमा परेको व्यवसायी मुक्ति पोखरेलको दुखेसो छ । रु ६० लाख ऋण लिएर व्यवसाय सञ्चालन गर्नुभएका पोखरेललाई झण्डै रु १३ लाखको अण्डा बिग्रिन थालेपछि ऋण र कुखुरा कसरी बचाउने चिन्ता छ । “सरकारले नहेर्ने हो भने हामी डुब्छौँ”, उहाँले भन्नुभयो ।

जिल्लाका लेयर्स फार्ममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना तथा विश्व बैंकको लाखौँ अनुदान सहयोग छ । जिल्लामा व्यावसायिकरुपमा १८ वटा लियर्स कुखुरापालन फार्म छन् । दैनिक करिब ४२ क्विन्टल दाना लेयर्सका लागि मात्र खपत हुन्छ । अठार फार्ममा रहेका करिब ५५ हजार कुखुराबाट दैनिक २०५ पेटी अण्डा उत्पादन भइरहेको छ ।

फार्ममै दाना बनाउन चीन र भारतबाट आउने दानाका तत्व उधारोमा नपाउने र अण्डाले बजार नपाएपछि व्यवसायी समस्यामा परेको जिल्ला पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष झगबहादुर जिसीले बताउनुभयो । “जिल्ला अण्डामा आत्मनिर्भर बनेको थियो”, उहाँले भन्नुभयो, “बजार व्यवस्थापनमा सरकारले समयमै कृषकलाई सहयोग नगरे राज्यको लाखौँको अनुदान पनि खेर जाने र कृषकको व्यवसाय धरापमा पर्ने निश्चित छ ।” सरकारले पशु र पक्षीजन्य वस्तु राम्रोसँग पकाएर मात्रै खाने भने पनि स्थानीयवासीले अण्डा तथा मासु कम खरिद गरेकोे कृषकको भनाइ छ ।

मल्लरानी गाउँपालिकाका पशु शाखा संयोजक बाबुराम न्यौपानेका अनुसार १६ वटा तत्व लेयर्सलाई चाहिन्छ । लाइसिन, मिथाइन, क्याल्सियम, इन्जाइम, मिनेरल, एसिडिन फाइभ, भिटामिन एविलगायतका भिटामिन अभाव हुँदा अण्डा फुट्ने र कुखुराको उत्पादन शक्ति घट्न थालेको न्यौपानेको भनाइ छ । यति मात्रै होइन जिल्लामा ब्रोइलर पालन गरेका कृषक पनि मारमा छन् । कडा परिश्रमका साथ हुर्काएका कुखुरा छिप्पिन थालेपछि कृषक चिन्तित छन् ।

मजदूरको उद्धारमा सक्रिय बन्दै स्थानीय तह

मुलुकका विभिन्न जिल्लाबाट पैदलै घर फर्किदै गरेका मजदूरलाई प्यूठानका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने काम गरेका छन् । बाहिरी जिल्लाबाट स्थानीय तहले सीमामा राखिएको हेल्पडेस्कसम्म ल्याएर छोड्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहको सहकार्यमा सीमापार गराउने गरिएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयोे । बन्दाबन्दीको समयमा आधा बाटोबाट भए पनि घर जान पाएपछि पैदलयात्रु खुशी भएका छन् ।

काठमाडौँ, गुल्मी, कास्की, धादिङ, पर्वत, बाग्लुङलगायतका जिल्लामा खानेपानी, पुल, मोटरबाटो, भवन निर्माणलगायतका योजनामा काम गर्ने मजदूरहरु बन्दाबन्दी लम्बिएर कामविहीन भएपछि लामो दूरीको कष्टकर पैदल यात्रा गरी धमाधम घर फर्किन थालेका हुन् ।

पैदलयात्राबाटै बीचबाटोसम्म आइपुगेकालाई गुल्मी, बाग्लुङ, प्यूठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदूरको घरसम्म पु¥याउने काम भएको छ । प्यूठान नगरपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाको समन्वयमा सयौँ पैदलयात्रीको उद्धार गरी खाना खुवाएर सम्बन्धित स्थानसम्म पु¥याइएको प्यूठान नगरपालिकाका नगर प्रमुख कक्षपतिले बताउनुभयो ।

स्थानीय तहले समन्वय गरी उद्धार गर्न थालेपछि मजदूर हर्षित बनेका छन् । लामोदूरीको यात्राले थाकेको अवस्थामा पेटभरि खाएर घर जान पाउँदा दुःख बिर्सिएको बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका– ९ बनगाईकी ३० वर्षीया सीता सार्कीले बताउनुभयो । बाग्लुङको जैमुनी नगरपालिका–३ रामखोलाको सडकमा जाली भर्ने काम गर्ने २५ जनाको समूह थियो । सडक मर्मतको काम गर्दै आएका मजदूर बन्दाबन्दीपश्चात कामविहीन हुनुप¥यो । वाग्लुङबाट गुल्मी, प्यूठान, दाङ, बाँके हुँदै बर्दिया पुग्ने तयारीमा करिब तीन दिन पैदल हिँडेर गुल्मीको रेसुङगा नगरपालिकामा आएका मजदूरलाई रेसुङ्गा नगरपालिकाले प्यूठान नगरपालिकासँग समन्वय गरी पठाएको थियो ।

पर्वत र गुल्मी हुँदै आएका १६ जना मजदूर पनि सजिलै घर जान पाएपछि खुशी देखिन्थे । ३ गते बन्दाबन्दी सकिने र काम पाइने आशामा रहेका मजदूर बन्दाबन्दीको समय थप भएपछि घर फर्किनुको विकल्प नभएको प्यूठान नगरपालिका– ६ माझकोटका नारायणबहादुर पुनले बताउनुभयो । “धेरै पीडा भोगेर धन्न आइपुग्यौँ”, उहाँले भन्नुभयो, “पानी मागेर खान खोज्दा खान दिनु त के छुनसमेत बन्देज गरियो ।”

गण्डकी प्रदेशको पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा खानेपानी निर्माण योजनामा १९ जना मजदूर कार्यरत थिए । तीन जना बन्दाबन्दी हुनुअगावै फर्किए पनि १६ जना भने ३ गते बिहानै विहादीबाट हिँडेका थिए । अन्य जिल्लाबाट प्यूठानसम्म आएका पैदलयात्रीलाई गन्तब्यसम्म पु¥याउन स्थानीय तहले सक्रियता देखाएको प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनुभयो ।

“यातायातको व्यवस्थापन, खाना, आवासको व्यवस्थापनका विषयमा स्थानीय तहले सक्रियता देखाएका छन्”, प्रमुख जिल्ला अधिकारी पन्थले भन्नुभयो, “मजदूरको पीडामा स्थानीय तहले गरेको सहयोग सरहानीय छ ।” विभिन्न जिल्लाबाट मजदूरी गरी फर्किदै गरेकालाई सम्बन्धित जिल्ला एवं स्थानीय तहको समन्वयमा आवश्यक उद्धार गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, प्रहरी, उद्योग वाणिज्य सङ्घ, विभिन्न सङ्घसंस्थाले पैदलयात्रीलाई आवश्यक सहयोग गर्नुका साथै क्वारेन्टाइन व्यवस्थापन, हेल्पडेस्क निर्माण तथा आर्थिक सहयोग पु¥याएको प्रमुख जिल्ला अधिकारी पन्थको भनाइ छ । अर्घाखाँची– यहाँ तरकारी, फलफूल, मासु र अण्डाको आयातमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन बाहिरी जिल्लाबाट आयात हुने दूधजन्य पदार्थ खरिद बिक्रीमा समेत रोक लगाइएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार