मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • हेटौँडामा थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण
समाज

हेटौँडामा थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण

हेटौँडा ६ वैशाख: तीन साता लामो लकडाउनले पीडामा परेका मकवानपुरका विपन्न र दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने थप १४ हजार २९५ घर परिवारलाई खाद्यान्न प्याकेट घरदैलोमै उपलब्ध गराइएको जिल्ला समन्वय समितिले जनाएको छ ।

आठ गाउँपालिकामा सम्बन्धित वडाध्यक्षको रोहवरमा खाद्यान्न प्याकेट वितरण गर्न लगाइएको समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । ती प्रत्येक घरको परिवार सङ्ख्याका आधारमा न्यूनतम पाँच किलोदेखि २० किलोसम्म चामल, दाल दुईदेखि चार किलोसम्म, नुन दुई प्याकेट, तेल एक लिटर र तरकारी दुई किलो गाउँपालिकाले आफ्नो कोषबाट खरिद गरी ती परिवारलाई उपलब्ध गराइएको बताइएको छ ।

जिल्लाका दुर्गम र पश्चिम भेगमा पर्ने राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न उत्पादन कमी हुँदै आएको र ती क्षेत्रमा बसोवास गर्ने आदिवासी चेपाङ, तामाङ समुदायको बाहुल्यता भएकाले विपन्न र ज्यालादारी गर्ने सर्वसाधारणलाई यही समयलाई मात्र नभई छ÷सात महिनाका लागि खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था आएकाले सङ्घीय सरकार र प्रदेश सरकारलाई आफूले गाउँपालिकाका तर्फबाट निर्णय गरी माग गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका केही वडामा करिब चार हजार घरपरिवारलाई खाद्यान्न प्याकेट वितरण गरिसकिएको र अरु वडामा तथ्याङ्क लिने काम भइरहेकाले दुई÷तीन दिनभित्रै खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले जानकारी दिनुभयो । मकवानपुरमा अहिले करिब ४२ हजार ३७७ परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै