बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • गोरखा आरुघाटका युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि
स्वास्थ्य

गोरखा आरुघाटका युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि

गोरखा, ३ वैशाखः र्यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो ।

‘आरुघाट गाउँपालिकाभित्र मङ्गलबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजेटिभ देखिएका भनिएका युवकको पिसिआर टेष्टको नजिता आज आएको हो, गोरखा अस्पतालका कोभिड–१९ का फोकल पर्सन नारायण अर्यालले भन्नुभयो, “ पिसिआर टेष्टमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।” र्यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आए पनि नेगेटिभ आए पनि पिसिआर टेष्ट नगरी के हो भन्न नसकिने भएकाले तत्काल युवकको स्वाब परीक्षणका लागि हिजै पोखरा पठाइएको थियो ।

गएको फागुन २२ गते बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो । गोरखाका ११ वटै स्थानीय तहमा भारतलगायतका विभिन्न देशबाट आएकाको र्यापिड डाइग्नोस्टिक टेष्ट भइरहेको छ । चैत १ गतेदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार