मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • इक्वेडरको दूतावासमै रहँदा विकिलिक्सका संस्थापक असान्जका दुई सन्तान जन्मिए
अन्तर्वार्ता

इक्वेडरको दूतावासमै रहँदा विकिलिक्सका संस्थापक असान्जका दुई सन्तान जन्मिए

लन्डन, ३० चैत–– बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा विकिलिक्सका संस्थापक जुलियन असान्जका दुई बच्चा जन्मिएको आइतबार बेलायतको एक अखबारले जनाएको छ । अमेरिकी गोप्य सूचनाहरु जासुसी गरेको आरोपमा हाल लन्डनको जेलमा रहेका असान्जकी वकील स्टेला मोरिसबाट जन्मिएका ती बच्चाहरु अहिले दुई र एक वर्षका छन् ।

बेलायतको अखबार मेलले आइतबार असान्जसँगै दुई बच्चाको फोटो सहित मोरिसको अन्तर्वार्ता प्रकाशन गरेको छ । मोरिसले आफूहरुले चाँडै विवाह गर्ने योजना बनाएको बताउनु भएको छ । असान्ज अहिले बेलायतको बेल्मार्शस्थित उच्च सुरक्षा व्यवस्था सहितको जेलमा बन्दी हुनुहुन्छ । जासुसी गरेको आरोपमा संयुक्तराज्य अमेरिकाले बेलायत समक्ष असान्जलाई सुपुर्दगी गर्न माग गरिरहेको छ । तर अदालती सुनुवाईको प्रक्रिया जारी रहेकाले सुपुर्दगीको विषय टुंगो लागिसकेको छैन ।

असान्जकी वकिल मोरिसले असान्जको जीवन जोखिमपूर्ण अवस्थामा रहेको बताउँदै कोरोनाभाइरसका कारण बेल्मार्श जेल पनि सुरक्षित नरहेकाले तत्काल रिहा गर्न आग्रह गर्नु भएको छ । बेलायत सरकारले कोरोनाभाइरसको संक्रमणको खतरा रहेको बताउँदै केही बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने योजना बनाइरहेको छ । तर असान्जलाई राखिएको बेल्मार्शमा उच्च सुरक्षा प्रबन्ध रहेको भन्दै बेलायत सरकारले असान्जलाई छाड्न गरिएको अनुरोधलाई अस्वीकार गरेको मोरिसले बताउनुभयो ।

अफगानिस्तान र इराकमा अमेरिकी सैनिक आक्रमणका गोप्य सूचना एवं विद्युतीय फाइलहरु सन् २०१० मा विकिलिक्सबाट सार्वजनिक गरिएपछि असान्जमाथि अमेरिकी प्रतिजासुसी ऐन बमोजिम मुद्दा चलाइएको छ । अमेरिकाले पक्राउ गर्ने र आफ्नो जीवन नै जोखिममा रहेको भन्दै उहाँले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिनुभएको थियो, तर गत वर्ष उहाँलाई लन्डन प्रहरीले पक्राउ गरेको थियो । इक्वेडरको राजदूतावासमा असान्जले झण्डै एक आठ वर्ष बिताउनु भएको थियो । कानुनी सल्लाह एवं परामर्शका निम्ति असान्जलाई भेट्न मोरिस पटकपटक उक्त दूतावास जानु भएको पनि मेलले प्रकाशन गरेको छ । (रासस–एएफपी)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै