बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • राहत वितरणमा हुने भीड हटाउन निर्देशन
समाज

राहत वितरणमा हुने भीड हटाउन निर्देशन

विराटनगर, २८ चैत: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिनुभएको छ । आज बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखलाई यस्तो निर्देशन दिनुभएको हो । अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइँचो बढ्दा कोरोना भाइरसको सङ्क्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहले ‘डेलिभरी भ्यान’को व्यवस्था गरेर घरघरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिनुभयो ।

उहाँले विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले मानिसलाई आवतजावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन दिनुभयो ।

सङ्क्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमानाकामा कडाइ गरिने र यसका लागि तयारी गर्नसमेत सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले प्रदेश नं १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताउँदै आजदेखि प्रदेशले ¥यापिड टेस्ट शुरु गरेकाले क्वारेन्टाइनमा बसेका सबैको र स्वाब परीक्षण कोशी अस्पतालबाटै दैनिक १०० वटा परीक्षण गरिने भएकाले अब क्वारेन्टाइनमा रहनेको व्यवस्थापन सहज हुने बताउनुभयो ।

प्रदेशका २० देखि ३० हजारको ¥यापिड टेष्ट र एक हजार बढीको स्वाबको चाँडै परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चुनौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताउनुभयो । बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ति व्यवस्था, राहत वितरणबारेमा जानकारी गराउनुभएको थियो ।(रासस)

चर्चामा

सम्बन्धित समाचार