मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित
खेलकुद

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

टोकियो, २८ चैतः जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताउनुभएको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उहाँको भनाई छ । यसै बर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणकै कारण ठिक एक बर्ष पछाडी सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार बताउनुभयो । जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागु हुनेगरी केही ठाउँका लागि सङ्कटकालको समेत घोषणा गर्नुभएको छ ।

“आगामी जुलाईसम्ममा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइसक्छ भन्ने कुरा कसैले भन्न सक्दैन, त्यसैले अहिले तोकिएकै मितिमा ओलम्पिक प्रतियोगिता हुन्छ भन्ने सुनिश्चत गर्न पनि मैले सक्दिन,” उहाँले भन्नुभयो । शुक्रबार आयोजित पत्रकार अन्तरक्रियामा उहाँले तोकिएकै मितिमा प्रतियोगिता हुने बारेमा आफुसँग स्पष्ट जवाफ भएको बताउनु भयो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै बर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री आवेले कोरोना भाइरस विरुद्धको लडाईलाई छिटो छरितो, प्रभावकारी र शसक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नु परेको भन्दै उहाँको आलोचना पनि भएको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक बर्ष पछाडि हुने मानेर नै तयारीको कामहरु तिब्र गतिमा अगाडी बढाइने बताउनुभयो । उहाँले त्यतिबेलासम्म कोरोना भाइरसको सङ्क्रमण अन्त्य हुने आशा पनि व्यक्त गर्नुभयो । जापानमा कोरोना भाइरसका कारण शुक्रबारसम्ममा झण्डै पाँच हजार जना सङ्क्रमित भएका छन् भने झण्डै एक सय जनाको मृत्यु भएको छ । (रासस/एपी)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै