शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सुस्त श्रवण भएका बालिकालाई विद्यालयले भर्ना लिएन
समाचार

सुस्त श्रवण भएका बालिकालाई विद्यालयले भर्ना लिएन

बढैयाताल गाउँपालिका–४ खैरेनीकी १० वर्षीया राधा पासी चाहेर पनि विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छिन् । घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेको बालिकाका बुबा राधेश्याम पासीले बताउनुभयो । राधाको उमेर पाँच वर्ष पुग्ने बित्तिक्कै बुबा राधेश्याम पासीले नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न लग्नुभएको थियो । तर विद्यालयले सुस्त श्रणव शक्तिका विद्यार्थीलाई पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन । राधा अरु सामान्य मानिससरह प्रष्टसँग बोल्न सक्दिनन् । जन्मैदेखि उनको बोली आउँदैन ।

आवाजबाट उनीले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन् । अन्य विद्यालयमा पनि पटक–पटक भर्ना गर्ने प्रयास गर्नुभयो बुबा राधेश्याम पासीले । तर पढाउन नसकिने भनेर फिर्ता पठाइयो । घर छेउबाटै गाउँका अरु बालबालिका कापीकलम बोकेर पढ्न गइरहेका हुन्छन् । राधाको पढने इच्छा भए पनि आँगनबाट उनीहरुलाई टुलुटुलु हरेर बस्नुको विकल्प छैन । उनीमा सुस्त श्रवण शक्ति छ । उनी साङ्केतिक भाषा मात्रै बुझ्दछिन् र बोल्दछिन् । छोरीले पढ्न नपाउँदा आमा हिरा पासी चिन्ता व्यक्त गर्नुहुन्छ ।

अपाङ्गता भएकी छोरीले पढ्नबाट वञ्चित हुँदा उनको भविष्य अन्धकार हुने भयो भन्ने सबैभन्दा बढी चिन्ता आमा हिराको छ । नेपाल सरकारले विद्यालयमार्फत आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ । शिक्षाको लागि अभियान चालेको भए पनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन् । उनीहरुका लागि आफ्नै घर नजिकको विद्यालयमा विशेष कक्षासहितको विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको छ । स्थानीयवासी गणेश विक यस अवस्थाले सरकारले भन्दै आएको सबैलाई अनिवार्य शिक्षाको नाराले साकार रूप पाउनेमा आशङ्का उत्पन्न भएको बताउनुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार