आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • नयाँ वर्षमा कालीगण्डकीमा स्नान र मेला लगाउन रोक
फोटो ग्यालरी

नयाँ वर्षमा कालीगण्डकीमा स्नान र मेला लगाउन रोक

पर्वत, २८ चैत: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नयाँ वर्ष २०७७ का अवसरमा कालीगण्डकी नदीमा स्नान गर्न र मेला लगाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै कालीगण्डकीमा मेला लगाउन रोक लगाएको हो । नव वर्षका अवसरमा गरिने कुनै पनि धार्मिक मेला, पूजाआजा सांस्कृतिक जमघट नगर्न प्रशासनले अनुरोध गरेको छ ।

मुलुक तीन साता लामो ‘लकडाउन’मा रहेका बेला यस्ताखाले मेला र पूजाआजाले एक अर्काबीच सङ्क्रमण फैलिनसक्ने जोखिम भएकाले घरमै बसेर सहयोग गर्न पनि आग्रह गरिएको छ । पछिल्लो केही दिनयता अन्तर जिल्ला र अन्तरपालिका तथा कतिपय ठाउँमा अन्तरवडासमेत आवतजावतमा कडाइ भएका बेला परम्परागतरुपमा मनाउँदै आएको कालीगण्डकी स्नान तथा जमघटले सामाजिक दूरीसमेत कायम नहुने र अन्य जोखिमसमेत निम्तिने भएकाले सचेत हुन भनिएको हो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले सूचना जारी गर्दै यो स्वयं आफैँका लागि खतरा भएकाले सरकारले आह्वान गरेको लकडाउनलाई पालना गर्दै कालीगण्डकीलगायत मठमन्दिरमा नजान आग्रह गर्नुभएको छ।  नव वर्षको वैशाख सङ्क्रान्तिका अवसरमा पवित्र कालीगण्डकीको तटमा पर्ने मोदीवेणी, सेतीवेणी, पूर्तिघाट, जैमिनीघाट, नयाँपुल, सहस्रधारा, वारिवेनी, मिलनचोकलगायतका स्थानमा स्नान गर्नेको भिड लाग्ने गर्दछ । प्रशिद्ध मोदीवेणी र विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा ठूलो मेला लाग्ने प्रचलनसमेत रहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार