मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • लकडाउनले कुखुरापालक किसान मारमा
अर्थ/वाणिज्य

लकडाउनले कुखुरापालक किसान मारमा

—सुशीला रेग्मी

रामपुर (पाल्पा), २७ चैत: रामपुर नगरपालिका— ६ विजयपुर निवासी विन्दुदेवी पोखरेलले ४ वर्षदेखि कुखुरा पालन व्यवसाय गर्दै आएका छन् । हालै उहाँको फार्ममा बिक्रीका लागि दुई सय ५० ब्रोइलर कुखुरा तयारी अवस्थामा छन् । तर लकडाउनका कारण ती कुखुरा बिक्री हुन सकेको छैन् । कुखुरा व्यवसायबाट यो पटक रु एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य लिएको उहाँलाई लकडाउनका कारण कुखुरा नै बिक्री गर्न नपाउँदा लगानी खेर जाने भन्ने चिन्ताले सताउन थालेको छ । सोही ठाउँका गोपाल कंडेलको फार्ममा पनि अहिले नौ सय ब्रोइलर कुखुरा बिक्री गर्ने अवस्थाका छन् । फार्ममा साढे चार किलो सम्मका कुखुरा तयार छन् तर बिक्री गर्न नपाउँदा उहाँ पनि चिन्तित भएका छन् । समयमा नै कुखुरा बिक्री गर्न नपाउँदा यस पटक करिब रु तीन लाख मूल्य बराबरका नोक्सान हुने उहाँको अनुमान छ । “लकडाउनका कारण चल्लालाई पनि पर्याप्त दाना खुवाउन सकिएका छैनन् ।

बिरामी चल्लालाई औषधिसमेत दिन सकिएन् । भेटेरिनरी डाक्टर प्रत्यक्ष फार्ममा आउन मान्दैनन् । दाना पनि सहज रुपमा उपलब्ध हुँदैन् । जसकारण धेरै चल्ला नष्ट गर्ने सोच बनाएको छु”, उहाँले भन्नुभयो । कंडेलले भन्नुभयो, “फार्ममा बिक्रीका लागि नौ सय कुखुरा तयारी अवस्थामा छ । उनीहरुलाई दानापानी दिनमा नै ठूलो खर्च लाग्छ, यस्तै हो भने खाल्डो खनेर पुर्नुबाहेकको विकल्प छैन ।” ४० देखि ४५ दिनमा चल्ला तयार हुन्छ । यो अवधिमा बिक्री नभए कुखुराले बढी दाना खान्छन् । कुखुराको तौल भने बढ्दैन । फर्ममा रहेका प्रायः कुखुरा ४२ दिनका छन् । तर बिक्री भएको छैन । जसकारण एक लटमा करिब रु तीन लाख घाटा हुने अवस्था रहेको उहाँको भनाइ छ ।

पाँच वर्षसम्म वैदेशिक रोजगारीमा पसिना बगाउनुभएका कंडेल गाउँ फर्केपछि घरमै बसेर केही गर्ने मनसायले कुखुरापालन व्यवसाय गर्नुभएको हो । यसभन्दा अगाडी कुखुराबाट राम्रौ आम्दानी हुन थालेपछि यो पटक कुखुरा थप गरेपनि यही बेला बिक्री गर्न नपाउँदा कंडेल समस्यामा पर्नुभएको हो । कोरना भाइरस सङ्क्रमण (कोभिड— १९) को रोकथामका लागि सरकारले मुलुकभर लकडाउन लागू गरेको छ । लकडाउनले कुखरापालक कृषक मारमा परेका छन् । समयमा कुखुरा बिक्री गर्न नपाउँदा दैनिक गुजारा चलाउनै अप्ठ्यारो परेको कुखुरा व्यवसायीहरु बताउँछन् । अर्का कुखुरा पालक यमबहादुर भुजेलको गुनासो पनि उस्तै छ ।

तीन सय कुखुरालाई दैनिक रु तीन हजार तीन सयको दाना खुवाउनुपर्छ तर बेच्ने माध्यम नहँुदा रु एक लाख ५० हजार बराबरको घाटा हुने उहाँको गुनासो छ । उहाँको दैनिकी चलाउने माध्यम नै कुखुरापालन व्यवसाय हो । तयार भएका कुखुरा बिक्री गर्न नपाउँदा आफूजस्तै धेरै कृषक मारमा परेको भुजेलले बताउनुभयो । “कुखुरालाई समय समयमा दानापानी र औषधि दिइरहनुपर्छ, तर तयारी अवस्थामा रहेको कुखुरा बिक्री गर्न पाएको छैन, कुखुरा बिक्री गरेर आम्दानी लिन त परै जाओस् उल्टै दानापानीमै ठूलो खर्चको भार परेको छ” भुजेलले भन्नुभयो ।

भिमा ढकालले छिमेकीले कुखुराबाट राम्रो कमाई गरेको देखेपछि ब्रोइलर कुखुरा पाल्न शुरु गर्नुभयो । कुखुरा पाल्न थालेको पहिलो वर्षमा नै बेच्न नपाउँदा उहाँलाई यो व्यवसायमा व्यर्थ लगानी गरेकोे अनुभूति भएको छ । उहाँले तालपोखरा एग्रोफार्म दर्ता गरी लामो समयसम्म व्यवसाय गर्ने लक्ष्यका साथ यो व्यवसाय शुरु गरेको पहिलो पटकमा नै समस्या परेको बताउनुभयो । उहाँको फार्ममा दुई सय ५० कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छ । शुरुवातको चरणमा फार्ममा करिब रु तीन लाख लगानी गरेको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकामा पछिल्लो समय कुखुरापालान व्यवसायमा कृषकको आकर्षण बढेका छन् । तर लकडाउनका कारण समयमै कुखुरा बिक्री गर्न नपाउँदा उनीहरु निरास बनेको पशु शाखा कार्यालय रामपुरका पशु स्वास्थ्य प्राविधिक तुल्सीराम काफ्लले बताउनुभयो । कृषकबाट कुखुरा बिक्री नभएको गुनासो आफूमा आएपनि लकडाउनका कारण समस्याको समाधान निकाल्ने नसकिएको उहाँको भनाइ छ ।रामपुर नगरपालिकाभित्र झण्डै दुई सय कृषक कुखुरापालन व्यवसायमा आबद्ध छन् । यहाँका कृषकले ब्रोइलर कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका थिए । तर लकडाउनका कारण समयमा कुखुरा बिक्री गर्न नपाउँदा कृषकलाई यतिखेर यो व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै