बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • ग्रामीण भेगमा महको खपत बढ्दो
समाचार

ग्रामीण भेगमा महको खपत बढ्दो

विभिन्न गाउँपालिकामा उत्पादन हुने मौरीको मह सिरहाका प्रमुख बजारभन्दा ग्रामीण भेगमा नै बढी खपत हुने गरेको पाइएको छ । स्थानीयस्तरमा उत्पादन हुने मालसामानको बढी खपत शहर तथा नगरोन्मुख बजारका बासिन्दाले उपभोग गर्ने यथार्थ विपरीत मौरीको मह बढी मात्रा ग्रामीण भेगका गाउँमा खपत भएको छ । भवानीपुर–७ स्थित गायत्री मौरी विकास केन्द्रका सञ्चालक चन्देश्वर कामती आफूले उत्पादन गरेको मासिक २५ बाकस मौरीको महको माग बजारमा नरहेको बताउनुहुन्छ ।

“बजारका मानिसहरु हर्लिक्स, बुस्ट तथा ठूलठूला कम्पनिका प्याकेज गरिएको मह खान्छन्”, उहाँले भन्नुभयो, “तर गाउँका मानिसहरुले घरेलु भिटामिन र औषधिको रुपमा मह नै प्रयोग गर्ने हुँदा महको खपत गाउंँमा बढी भएको हो ।” मह उत्पादन गरेपछि घरमै बिक्री हुने गरेकाले ग्रामीण कृषक मौरीपालनप्रति आकर्षित हुने गरेको लहान–४ स्थित मनकामना मौरी विकास केन्द्रका रामचन्द्र गुप्ताको भनाइ छ । ग्रामीण भेगमा उत्पादन हुने महमा मिश्रणको सम्भावना नहुने विश्वास सर्वसाधारण उपभोक्तामा छ ।

ग्रामीण क्षेत्रमा एक घारमा औसत २५ केजी मह उत्पादन हुने गरेको छ । नेपाली बजारमा अहिले प्रति केजी महको रु तीन सय पर्छ ।
मह उत्पादनबाट गाउँमै बसी लगानीको तुलनामा राम्रो आम्दानी गर्न सक्ने भएको हुँदा मौरीपालकको जीवनस्तरमा पनि राम्रो सुधार आएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सिरहाका २४ गाउँपालिका तथा नगरपालिकामा करीब ३५ किसानले मौरीपालन गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार