सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • महाकाली अञ्चल अस्पतालमा चार वर्षदेखि आइसियू सेवा सञ्चालनमा आएन
समाचार

महाकाली अञ्चल अस्पतालमा चार वर्षदेखि आइसियू सेवा सञ्चालनमा आएन

बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष(आइसियू )सेवा अझै सञ्चालनमा आउनसकेको छैन । आर्थिक वर्ष २०७१/७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आइसियू सेवा जडान गरिएको भए पनि त्यसका लागि आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको छ ।

“आइसियू त स्थापना भए तर चिकित्सकसहितको जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो”, महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले भन्नुभयो, “पटक–पटक सञ्चालन गर्न पहल भए पनि केही भएन ।” सङ्घ र प्रदेश सरकारमा आइसियू सञ्चालनका विषयमा धेरै पटक अञ्चल अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लागिपरे पनि उपलब्ध हुनसकेको छैन । दरबन्दीको २० प्रतिशत पनि विशेषज्ञ चिकित्सक नहुँदा अस्पताललाई ‘रिफर सेन्टर’को उपमा दिइएको छ ।

स्थानीय नागरिक समाज तथा सरोकारवाला निकायले अस्पतालको भौतिक संरचना सुधारका लागि प्रयासरत रहे पनि व्यवस्थापकीय पक्ष सवल नहुँदा अस्पतालले चिकित्सकको अभाव झेल्दै आएको छ । २८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल सर्जन, छाला तथा यौनरोग र स्त्रीरोग विशेषज्ञ गरी तीन चिकित्सक मात्र कार्यरत छन् ।

“आइसियू सेवा सञ्चालनका लागि चिकित्सकसहित कम्तीमा १०/१२ स्वास्थ्यकर्मीको टोली चाहिन्छ”, सूचना अधिकृत अवस्थीले भन्नुभयो, “चिकित्सक र आइसियू सञ्चालनका लागि मन्त्री तथा सांसदहरुसँग छलफल र पहल हुँदा पनि केही नतिजा आएन ।” उहाँले आइसियू सेवा नहुँदा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि धनगढी र भारतका विभिन्न अस्पताल जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै