बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • इच्छाकामनामा बाल संरक्षणगृह निर्माण
समाचार

इच्छाकामनामा बाल संरक्षणगृह निर्माण

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो । रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष रानामगरले बताउनुभयो । वडा कार्यालयले अहिले यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गरिरहेको उहाँको भनाइ छ ।

गाउँपालिककाका प्रवक्ता सावित्री गुरुङले वडा नं ४ मा बन्दै गरेको बालगृहलाई गाउँपालिकास्तरीय बनाउने विषयमा छलफलसमेत भएको जानकारी दिनुभयो । अहिले गाउँपालिकाभित्र रहेको बाबुआमा नरेहका बालबालिका, अशक्त, गरीबी अर्थाभावका कारण जोखिममा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने र त्यसैका आधारमा आवश्यकताअनुसार बालगृह संरक्षण केन्द्रलाई क्षमता बढाउँदै लैजाने उहाँले जानकारी दिनुभयो ।

चेपाङ बालबालिकालाई खाजा र पोशाक

इच्छाकामना गाउँपालिका–६ मा रहेको श्री देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलाका चेपाङ विद्यार्थीलई एक वर्षका लागि खाजा र पोशाक सहयोग प्राप्त भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरीको सक्रियतामा सहयोग सङ्कलन गरी सोमबार हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ बालकुमारी नारायणगढका अध्यक्ष बालगोपाल चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाको आर्थिक सहयोगमा विद्यार्थीलाई खाद्यान्नदेखि पोशाक सहयोग गरिएको हो ।

विद्यालयकी प्राधानाध्यापक ज्ञानु पाण्डेले उक्त विद्यालयमा १२० चेपाङ विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । गरीबीका कारण यहाँका चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो भएको उहाँको भनाइ थियो । खाजाको व्यवस्था हुने भएपछि बालबालिका नियमित हुने प्रधानाध्यापक पाण्डेले विश्वास व्यक्त गर्नुभयो । सो क्रममा बोल्दै समाजसेवी चुकेले चेपाङ बालबालिकालाई यो सहयोगले अध्ययनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका भाइस डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले सो विद्यालयबाट उर्तीण हुने चार विद्यार्थीलाई भरतपुरमा निःशुल्क अध्यापन गराउने प्रतिबद्धता जनाउनुभएको प्रधानाध्यापक पाण्डेले जानकारी दिनुभयो । यसैबीच सोही अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको छ । हर्ट फण्ड नेपालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा कौशल तिवारीले ३५ विद्यार्थी र २३ अभिभावकको मुट परीक्षण गर्नुभएको थियो ।

प्रहरी नायब निरीक्षक ठकुरी ड्युटीको क्रममा यस विद्यालयमा आइपुग्नुभएको थियो । सोही अवसरमा प्रअ पाण्डेले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनभएको थियो । प्राधानाध्यापक पाण्डेले विद्यालय र विद्यार्थीको बारेमा जानकारी गराएपछि ट्राफिक प्रहरी ठकुरी आफैँ सहयोग सङ्कलनमा जुट्नुभएको थियो । खाजा र नयाँ कपडा पाएपछि बालबालिका खुशी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार