सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • महोत्तरीको चार पद चार पार्टीको पोल्टामा
राजनीति

महोत्तरीको चार पद चार पार्टीको पोल्टामा

जलेश्वर, १६ मङ्सिर : महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा चार पार्टीको पोल्टामा परेका छन् । जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विक्रम चौधरीले तीन हजार २४९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याउनुभएको थियो ।

त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका विपिन पञ्जीयार सुडीले ४६१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याउनुभएको थियो ।

यसैगरी बलवा नगरपालिकाकै वडा नं ८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मल यादवले ३४६ मत ल्याउनुभएको थियो ।

त्यसैगरी मटिहानी नगरपालिका–६ को वडाध्यक्ष पदमा राजपा नेपालका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याउनुभएको थियो ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपाल विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ । अन्य तीन स्थानमा पुनः पहिले जितेका पार्टीनै दोहोरिएका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै