आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी
समाचार

उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी

काठमाडौँ, १४ मङ्सिर: उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ आज पनि जारी छ । वाग्मती सफाइ महाअभियानको ३४२औँ हप्तामा पशुपति आर्यघाटपारिको राममन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, पशुपति क्षेत्र विकास कोष, काठमाडौँ माहानगरपालिका, नेपाली सेना, नेपाल रेयुकाई, जीवन विज्ञानलगायत संस्थाका गरी ४०० भन्दा बढीको सहभागिता थियो ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सात वर्षअघि र अहिले यस क्षेत्रको सफाइ अवस्थामा सुधार हुन नसकेको सफाइ अभियानकर्मीको भनाइ थियो । यसैगरी वाग्मतीको तिलगङ्गा क्षेत्रमा पनि सफाइ गरिएको थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३०४औँ हप्तामा बाच्छाबाच्छी संरक्षणमा जनप्रतिनिधिको योगदान विषयमा छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।

कार्यक्रममा नदी सफाइका लागि खुला रुपमा बाच्छाबाच्छी छोड्ने काम अन्त्य गरिनुपर्नेमा उपस्थित सबैको ऐक्यबद्धता थियो । नदीमा भएको फोहर पानी खाएर धेरै बाच्छाबाच्छी मरेकाले संरक्षण गरिनुपर्नेमा सो अवसरमा जोड दिइएको थियो ।
वाग्मती सुन्दरीघाट क्षेत्र सफाइ अभियानको १५२औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले बताउनुभयो । मनोहरा सफाइको १४१ औँ हप्तामा कोटेश्वर क्षेत्रमा सफाइ गरियो । सफाइमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेसहित १०० जना भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले बताउनुभयो ।

चक्रपथ सफाइ अभियानको १३९औँ हप्तामा बसुन्धरा क्षेत्रबाट छ टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० नजिकिएकाले सडक, नदी नाला, सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थलमा सफाइ अभियान चलाउनुपर्नेमा जोड दिइएको थियो । यसैगरी आलोकनगर सफाइ अभियानको १३९औँ हप्तामा त्यस क्षेत्रमा जनचेतनामूलक सफाइ अभियान चलाइएको संयोजक प्रमिला पौडेलले राससलाई बताउनुभयो । चक्रपथ पश्चिमखण्ड सफाइको १२१औँ हप्तामा बाफल एवं स्वयम्भू क्षेत्रका मठ मन्दिरमा जनचेतनामूलक सफाइ अभियान गरिएको संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । यसैगरी राजधानीकोबीच भाग भएर बग्ने रुद्रमती, ललितपुरको गोदाबरी खोलालगायत स्थानमा पनि सफाइ अभियान चलाइएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभरका १०५ स्थानभन्दा बढी ठाउँमा जागरण फैलिएको छ । यी स्थानमा स्वतस्फूर्त रुपमा सफाइ अभियान चलिरहेको जनाइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार