शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सरकारी, सार्वजनिक र गुठी जग्गा छानबिन एक सातामा नसकिने
Breaking News

सरकारी, सार्वजनिक र गुठी जग्गा छानबिन एक सातामा नसकिने

काठमाडौँ, ९ मङ्सिरः अतिक्रमण भएको सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिन गर्न गठन भएको आयोगले हालसम्म परेका उजूरीको छानबिन तोकिएको समयमा नसकिने जनाएको छ ।

बालुवाटारमै सार्वजनिक जग्गा अतिक्रमण गरी पहुँचवाला व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिर आएपछि गत जेठ ६ गते सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग २०७६ गठन भएको थियो । आयोगले गठनको एक सातापछि काम शुरु गरेको थियो । छ महिना अवधि तोकिएको आयोगको म्याद नथपिए अर्को साता विघटन हुन्छ ।

आयोगका अध्यक्ष मोहनरमण भट्टराईले सार्वजनिक, सरकारी र गुठी जग्गा अतिक्रमण सम्बन्धी करीब २०० उजूरी दर्ता भएको जानकारी दिनुभयो । आयोगले विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका जग्गा अतिक्रमणका समाचारलाई पनि आधार मानेर छानबिन गरिरहेको छ ।

“आयोगमा दर्ता भएका उजूरीको छानबिन एक सातामा सकिने अवस्था छैन, म्याद थपिए सबै उजूरीको छानबिन गर्छौँ, नथपिए अहिलेसम्म छानबिन भएका जग्गासम्बन्धी विवरणको प्रतिवेदन बनाएर सरकारलाई बुझाउँछौँ”, उहाँले भन्नुभयो ।

अतिक्रमण भएको भनिएका जग्गाको स्थलगत रुपमा अध्ययन एवं सम्बन्धित कार्यालयमा त्यससम्बन्धी कागजात अध्ययन गरेर आयोगले प्रतिवेदन तयार पार्नेछ । अतिक्रमण भएका जग्गाको विवरण आयोग बहाल रहेसम्म उजूरी गर्न सकिने छ । देशभर सार्वजनिक, सरकारी एवं गुठी जग्गा अतिक्रमण भएका समाचार बारम्बार आइरहेकाले उजूरी गर्ने समयसीमा नतोकिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

जाँचबुझ ऐन २०२६ अनुसार आयोग गठन भएकाले छानबिन भएका विषयमा कुनै पनि तथ्य सार्वजनिक गर्न नसकिने आयोगले जनाएको छ । सरकारलाई प्रतिवेदन बुझाएपछि नै त्यसमा समावेश भएका विषय सार्वजनिक हुने जनाइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै