शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • जनताको जायज मागको पक्षमा छौँ : सभापति देउवा
Breaking News

जनताको जायज मागको पक्षमा छौँ : सभापति देउवा

बलेवा, ८ मङ्सिर: नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्र्याएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताउनुभएको छ ।

काँग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले जनताको मागअनुसारकै संरचना हुनुपर्ने भन्दै पश्चिम बागलुङको मागमा आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो । पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने भन्दै काँग्रेस त्यस क्षेत्रमा क्रियाशील नेताहरुले बेलाबेलामा आवाज उठाउँदै आएका छन् ।

अहिले देशभर चलिरहेको राष्ट्रियताको सङ्घर्षमा सरकारले सोचेजस्तो पहलकदमी नगरेको बताउँदै देउवाले कूटनीतिक तवरबाट सिमानाको विवाद टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसारका सिलसिलामा आयोजना भएको आमसभामा देउवाले उत्तरगङ्गा जलाशययुक्त आयोजना बागलुङतर्फ नै बनाउनका लागि आफूले पहल गर्ने बताउनुभयो । “उत्तरगङ्गा कहाँ बन्ने भन्नेमा विवाद रहेको छ”, उहाँले भन्नुभयो, “यो आयोजना बागलुङतर्फ नै बनाउनका लागि हाम्रो दलले पहल गर्छ ।”

मध्यपहाडी लोकमार्गको कामलाई तीव्र बनाउन र सालझण्डी ढोरपाटन लोकमार्गको काम थालनीका लागि पार्टीले दबाब सिर्जना गर्ने उहाँको भनाइ थियो । पश्चिम बागलुङसँग जोडिएका गौरवका आयोजना ओझेलमा रहेको भन्दै देउवाले जनताको हितमा हुनै जुनसुकै काममा काँग्रेसले साथ दिने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रजातन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाउनुभयो । “सरकार राम्राभन्दा पनि नराम्रा काम गर्दै गएको छ”, नेता पौडेलले भन्नुभयो, “यस्तै चालले अबको तीन वर्षमा देश पूर्ण खतरामा जाने सङ्केत देखिएको छ ।” उहाँले भारतसँगको सीमा विवादलाई सङ्केत गर्दै गाउँगाउँमा सरकारको विरोध भइरहेको भन्दै अबको दिनमा सरकार नेतृत्वले कूटनीतिक क्षमता प्रर्दशन गर्न सक्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा काँग्रेस महामन्त्री डा सशाङ्क कोइरालाले आफ्ना उम्मेदवारलाई जिताए मात्र गाउँ समाजमा समृद्धि आउने बताउनुभयो । चुनावीसभामा काँग्रेसका युवा नेता गगन थापा, प्रदीप पौडेललगायतले बोल्नुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार