बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • गुह्येश्वरी जात्राका क्रममा तलेजुको क्षमा पूजा
समाज

गुह्येश्वरी जात्राका क्रममा तलेजुको क्षमा पूजा

काठमाडौँ, ७ मङ्सिरः तलेजु भवानीको बहिनीका रुपमा चिनिने गुह्येश्वरीको जात्राअन्तर्गत मार्गशीर्ष कृष्ण एकादशीका दिन वसन्तपुरमा क्षमा पूजा गरिएको छ । जात्राका लागि गुह्येश्वरी लगिएको तलेजु भवानीलाई शुक्रबार गुरुजुको पल्टनले वसन्तपुर फर्काएको थियो । वसन्तपुर फिर्ता गरेपछि आज हाँसको बलिसहित क्षमा पूजा गरी देवीलाई पहिले राखिएकै स्थानमा राखिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

तलेजुका पुजारी मार्गशीर्ष कृष्ण सप्तमीका दिन गुह्येश्री गई बास बसेपछि जात्राको विधि शुरु हुन्छ । अष्टमीमा तलेजुका पुजारीले गुह्येश्वरी देवीको पूजा गर्छन् । नवमीमा तलेजु भवानीलाई माथिबाट निकाली तल राखिन्छ । यसैदिन गुह्येश्वरीमा लिङ्गो ठड्याइन्छ । तलेजु भवानीलाई लिन गुह्येश्वरीका स्थानीयवासी वसन्तपुर आउछन् । तलेजुलाई गुह्येश्वरी लगेपछि रातभर दुवै दिदीबहिनीलाई सँगै राखी रातभर पूजा आजा गरिन्छ । दशमीका दिन पशुपति क्षेत्रका विभिन्न स्थानमा दुवै रथ घुमाइन्छ । त्यसैदिन बेलुकी तलेजुलाई वसन्तपुर लगिन्छ । आज क्षमा पूजा गरेपछि तलेजुलाई माथि अर्थात् पहिले राखिएकै स्थानमा राखिन्छ ।

बालाचतुर्दशीका दिन तलेजुका पुजारीलाई गुह्येश्वरीबाट बिदाइ गरेपछि करीब आठ दिन लामो गुह्येश्वरी जात्रा सकिने परम्परा रहेको काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष दीनेश डङ्गोलले बताउनुभयो । प्रताप मल्लका पालादेखि यो जात्रा शुरु भएको हो । मल्लका काजीका रुपमा काम गरेका नवमी भारोले जात्राको शुरुआत गरेको अभिलेख पाइएको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले जानकारी दिनुभयो । जात्रा चलाउन उनैले गुठी राखेका थिए । त्यसबेला गुह्येश्वरीको मन्दिर बनिसकेको थिएन । यहाँ कुण्ड नै थियो । हाल गुठी संस्थानले यो जात्रा चलाउने गरेको छ । महादेवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा गुह्य पतन भएकाले गुह्येश्वरी नाम रहन गएको पौराणिक मान्यता छ । मन्दिरमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको भीड लाग्ने गर्छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार