शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस्ः उपसभापति निधि
राजनीति

पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस्ः उपसभापति निधि

चितवन, ७ मङिसरः नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमीन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उपसभापति निधिले हरेक निर्णयहरु सहमतिका साथ भएको बताउँदै यस एकताले निर्वाचनमा मात्रै नभएर समग्र पार्टीलाई नै बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा भएको हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै उहाँले परिवर्तन संस्थागत गर्नका लागि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने बताउनुभयो ।

उपसभापति निधिले गएको निर्वाचनमा काँग्रेसको हारका कारण खोज्नुभन्दा अहिले एक भएर लाग्नु आवश्यक रहेको बताउँदै अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अब जनताको पक्षमा काम गर्ने जिम्मेवारी काँग्रेसको रहेको बताउनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृतराज हमाल, स्थानीय कपिल आले, सुदन पौडेल लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेसका वडा सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टी परित्याग गरी विभिन्न व्यक्तिले पार्टी प्रवेश गरेका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै