सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • उपनिर्वाचनको प्रचारमा नेकपाका शीर्ष नेता
राजनीति

उपनिर्वाचनको प्रचारमा नेकपाका शीर्ष नेता

काठमाडौँ, ७ मङ्सिर : उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेता चुनावी दौडमा व्यस्त हुन थाल्नुभएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन हुने जिल्लामा जानेक्रम बढेको छ । चुनावीसभालाई सम्बोधन गर्न आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले बागलुङ पुग्नुभएको छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यही मङ्सिर ११ गते कास्की–२ को अमरसिंह चोकमा हुने आमसभामा सम्बोधनका लागि जाने कार्यक्रम छ ।

नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका बागलुङ–२ (ख) खिमविक्रम शाहीको पक्षमा प्रचारप्रसार गर्न उहाँहरु बागलुङ पुग्नुभएको हो । बागलुङपछि अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ मङ्सिर ११ गते भक्तपुरको सभामा सम्बोधनका लागि जानुहुने नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । भक्तपुर–१ (क)मा नेकपाका तर्फ प्रदेशसभा सदस्यका लागि डिपी ढकाल उम्मेदवार बन्नुभएको छ ।

उपनिर्वाचनको चुनावीसभा सम्बोधन गर्न अध्यक्ष प्रचण्ड पोखरा र दाङ पुगिसक्नुभएको छ । २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धनबाट निर्वाचित भएका र अन्य क्षेत्रमा विजय हासिल गर्न शीर्षनेता उपनिर्वाचन हुने क्षेत्रमा पुग्नुभएको छ । नेकपाले उपनिर्वाचनमा सहजै जित्ने बताउँदै कार्यालय सचिव रिजालले स्थानीय तहको प्रमुख र उपप्रमुखको निर्वाचन हुने क्षेत्रमा पनि नेताहरु जाने तयारी भइरहेको बताउनुभयो ।

भक्तपुरमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका साथै सचिवालय सदस्य वामदेव गौतमले चुनावीसभालाई सम्बोधन गरिसक्नुभएको छ । नेकपाले निर्वाचनमा विजय हासिल गर्न स्थानीय तहमा पनि प्रचारप्रसारलाई तीव्रता दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ बाट विद्या भट्टराई उम्मेदवार बन्नुभएको छ । रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा पार्टीले उहाँकी धर्मपत्नी भट्टराईलाई उम्मेदवार बनाएको हो ।

यसैगरी दाङ–३ (ख)मा प्रदेशसभा सदस्यका लागि कमला वली उम्मेदवार बन्नुभएको छ । निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म रिक्त रहेको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन गर्ने भएको छ ।  स्थानीय तहमा सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फागुनन्द गाउँपालिकाको अध्यक्ष, सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुथान गाउँपालिकाको उपाध्यक्ष र अन्य वडाअध्यक्ष गरी ४६ स्थानमा उपनिर्वाचन हुँदैछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै