बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् : दाहाल
राजनीति

सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् : दाहाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता नबुझेकाले सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले सङ्घीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला सङ्घीयता विरोधी सक्रिय बनेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले सङ्घीयतालाई पूर्णता दिँदै जातीय, वर्गीय र लैङ्गिक उत्पीडन अन्त्य गर्न बाँकी रहेको बताउँदै कुनै समय आफ्नो टाउकाको मूल्य तोकेको दलसँग अहिले सहकार्य गर्नुपरेको समेत चर्चा गर्नुभयो । कार्यक्रममा गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले एकीकृत दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरूप दिन नयाँ सङ्गठनात्मक संरचना गठन गरी नयाँ शक्ति निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि माक्र्सवाद, लेनिनवाद र समाजवादलाई पनि समृद्ध बनाउँदै लानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले एकीकृत पार्टीले तय गरेका सिद्धान्त, नीति, कार्यदिशा र रणनीतिलाई सशक्त ढङ्गबाट अगाडि बढाइने बताउनुभयो ।देशभरबाट २५१ जना सहभागी भएको दुई दिनसम्म चल्ने प्रशिक्षणले मोर्चाको राजनीतिक प्रतिवेदन तथा अन्तरिम विधानमाथि छलफल गर्ने लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका केन्द्रीय संयोजक भोजविक्रम बुढामगरले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार