शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • मानहुँकोटमा जग्गा विकास कार्यक्रम
समाचार

मानहुँकोटमा जग्गा विकास कार्यक्रम

– कृष्ण न्यौपाने

दमौली, ७ मङ्सिरः पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागू गरिने भएको छ । मानहुँमा रहेका जग्गालाई एकीकृत गरी व्यवस्थितरुपमा विकास गर्नका लागि नगरपालिकाले जग्गा विकास कार्यक्रमलाई अगाडि बढाएको हो ।

मानहुँको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागू गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । मानहुँमा बाहिरका व्यक्तिले जग्गा किनेर आफ्नो ढङ्गले व्यवस्थापन गर्न लागेपछि नगरपालिकाले नै व्यवस्थित ढङ्गबाट जग्गाको विकास गर्न आवश्यकता खड्किएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

“मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किन्ने क्रम बढ्दै गइरहेको छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गालाई व्यवस्थापन गर्न खोजेका हाँै ।” नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ । मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भएपनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकाले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताउनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यास नगरपालिका–५ पतेनीटार, व्यास नगरपालिका–६ शिशाघाट, व्यास नगरपालिका–७ नरङ्गा फाँट र व्यास नगरपालिका–१० बैरेनी क्षेत्रमा विस्तार गर्ने जनाएको थियो । सोहीबमोजिम बैरेनी र शिशाघाटमा जग्गा विकास कार्यक्रम सञ्चालनका लागि उपभोक्ता समिति गठन भइसकेको नगरपालिकाका इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो ।

जग्गा विकास कार्यक्रम लागू भएपछि व्यक्तिका सबै जग्गाको लालपूर्जा सरकारलाई बुझाउने र नयाँ नापीअनुसार जग्गा वितरण गरिनेछ । जग्गा विकास कार्यक्रमका लागि नगरपालिकाले आफ्नै एकाइ बनाएको छ । धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकाले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङसँग जोड्न प्रत्येक वर्ष म्याराथन प्रतियोगितासमेत हुँदै आएको छ ।

केही वर्षसम्म उजाड रहेको मानहुँकोट अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेकोले यहाँ जग्गा विकास कार्यक्रम लागू गर्न खोजेर नगरपालिकाले राम्रो कामको शुरुआत गरेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । “जग्गा विकास कार्यक्रमले मानहुँकोटको थप विकास हुने हो, यसका लागि स्थानीयवासी जागरुक बन्नुपर्छ”, वाग्लेले भन्नुभयो ।

गत वर्ष व्यास नगरपालिका–११ रानीगाउँमा जग्गा विकास कार्यक्रमका लागि प्रकृया प्रारम्भ गरेपनि स्थानीयवासीको विरोध पछि उक्त कार्यक्रम त्यहाँ स्थगित भएको थियो । स्थानीयवासीलाई कार्यक्रम बारे बुझाउन कठिनाइ भएको नगरपालिकाले जनाएको छ । जग्गा विकास कार्यक्रमका लागि उक्त ठाउँमा प्रारम्भिक अध्ययन समेत भइसकेको छ ।

जग्गा विकास कार्यक्रम सञ्चालनका लागि वडाध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा स्थानीयवासी, जग्गाधनी, टोल विकास संस्थाका पदाधिकारी सदस्य छन् । समितिमा सुरबहादुर थापा, केशरी थापा, मानध्वज थापा, शङ्कर थापा, डिल्लीराज थापा, झुलबहादुर थापा, देवकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, प्रेम राउत, विश्वराज खनाल, दुर्गाराज थापा, रेवती आले र कृष्ण न्यौपाने सदस्यको रुपमा रहनुभएको छ । पदाधिकारी भने समितिको बैठकले टुङ्गो लगाउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

राजमार्गलाई सुरक्षित र सरसफाइयुक्त बनाउन जुटे स्थानीय तह

गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार मुग्लिङदेखि तनहुँको कोत्रेसम्मको ७२ किलोमिटर सडकखण्डलाई सुरक्षित र सरसफाइयुक्त बनाउन जिल्लाका पाँच स्थानीय तह जुटेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिका राजमार्गलाई सुरक्षित बनाउन जुटेका हुन् ।

राजमार्ग भएर यात्रा गर्ने पर्यटकको यात्रालाई सुरक्षित बनाउने उद्देश्यले शुक्रबारदेखि राजमार्गमा सरसफाइ अभियान थालिएको व्यास नगरपालिकाका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । नजिकिदै गरेको नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन राजमार्गलाई सुरक्षित र सरसफाइयुक्त बनाउन आवश्यक ठानेर अभियान शुरु गरिएको न्यौपानेले बताउनुभयो ।

“राजमार्गमा थुप्रै व्यक्तिले ज्यान गुमाएका छन्, यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ त्यसका लागि स्थानीय तहको तर्फबाट पहल थालेका हौँ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “यो अभियानमा स्थानीय प्रशासन, सडक विभागलगायत सबै क्षेत्रको सहभागिता छ ।” राजमार्गमा भएका बिजुलीका पोल, रुखलाई रङरोगन गर्नेदेखि लिएर राजमार्ग वरपर भएका झाडीलाई फँडानी गर्नेसम्मका कार्यक्रम सञ्चालन गरिनेछ । “कोत्रेबाट छिरेपछि मुग्लिङ नपुगेञ्जसम्म राजमार्गमा तनहुँको छुट्टै पहिचान दिने खालका अभियानलाई निरन्तरता दिन्छौँ”, न्यौपानेले भन्नुभयो ।

भ्रमण वर्ष २०२० सबैको पहिचान र परिचय भएकाले तनहुँवासीले भ्रमण वर्षका लागि छुट्टै पहिचान बनाउनुपर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । “राजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई तनहुँ प्रवेश गरेपछि आहा ! कस्तो राम्रो भन्ने सन्देश दिन जरुरी छ”, थापाले भन्नुभयो, “त्यसका लागि यो अभियान सार्थक हुनेछ ।” शुक्रबारबाट शुरु भएको यो अभियानलाई निरन्तरता दिइने शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले जानकारी दिनुभयो । “यो अभियानमा सबैलाई सहभागी गराउँदै अगाडि बढ्छौँ”, गुरुङले भन्नुभयो ।

स्थानीय तहले प्रहरी प्रशासनको समन्वयमा राजमार्गमा गुड्ने सार्वजनिक सवारीसाधनबाट फोहर फाल्न निषेध गर्ने भएका छन् । त्यसका लागि प्रत्येक सार्वजनिक सवारीमा डस्टबिनको व्यवस्था गर्न अनुरोध गरिने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । “गाडीबाट जथाभावी फोहर फालिदिँदा वातावरण प्रदूषित भएको छ,” थापाले भन्नुभयो, “यसलाई नियन्त्रणमा लिन सार्वजनिक सवारीमा डस्टबिनको व्यवस्था गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छौँ ।”

भ्रमण वर्षलाई लक्षित गरी राजमार्गलाई सुरक्षित र सफाईयुक्त बनाउन तनहुँका स्थानीय तहले थालेको प्रयासले राष्ट्रियस्तरमा छुट्टै सन्देश दिन सफल भएको बताउनुहुन्छ गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल । मन्त्री लम्सालले भन्नुभयो, “यहाँका नागरिक सभ्य छन्, जताततै फोहर गर्दैनन् भन्ने सन्देश दिनका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ ।” प्लाष्टिक व्यवस्थित गर्नका लागि सरकारले विधेयक ल्याउने तयारी गरिएको भन्दै मन्त्री लम्सालले फोहरलाई मोहर बनाउन योजना बनाइएको जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै