शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • उपनिर्वाचन २०७६ : अब जनतालाई ढाँटेर नेता बन्न सकिँदैन – नेत्री भट्टराई
Breaking News

उपनिर्वाचन २०७६ : अब जनतालाई ढाँटेर नेता बन्न सकिँदैन – नेत्री भट्टराई

चिप्लेढुङ्गा, ६ मङ्सिर: कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रनुभएका नेकपा उम्मेदवार विद्या भट्टराईले अब जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसकिने बताउनुभएको छ । विज्ञान र प्रविधिको विकासले हरेक काम तत्काल सबैलाई थाहा हुने भएकाले अब जो कोही पनि जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसक्ने भन्दै उहाँले पारदर्शी राजनीतिबाट मात्र राजनेता बन्न सकिने बताउनुभएको हो ।

निर्मलपोखरीको दम्सादीमा ८७ वर्षीया जशोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशिर्वाद लिँदै घरदैलोपश्चात्को कोणसभामा भट्टराईले नेतालाई जिम्मेवार बनाउन जनताको ठूलो भूमिका हुने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेताले नेतृत्व लिइरहँदा कहिलेकाहीँ बाटो बिराउन सक्छन्, त्यसतर्फ सचेत बनाउन जनताको ठूलो भूमिका हुन्छ ।”

आफूमाथि आम नागरिकको विश्वासले जीवनको महत्वपूर्ण समयलाई अब राजनीतिमा होमेर सामाजिक परिवर्तनका लागि चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ थियो । सही समयमा सही निर्णय गर्नसके पछुताउनु नपर्ने भन्दै नेकपा जनताको समस्यालाई समाधान गर्नसक्ने पार्टी भएको बताउनुभयो । उम्मेदवार भट्टराईले समृद्ध नेपाल राष्ट्रिय सङ्कल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्ने महाअभियान सफल पारेरै छाड्ने दृढतासमेत व्यक्त गर्नुभयो ।

समृद्धिको सपना साकार पार्न पाँच वर्षका लागि पाएको जनादेश दुर्घटनावश फेरी अनुमोदनका लागि पोखरेली जनतामाझ आउनुपरेको भन्दै जनताको विश्वास टुट्न नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । पोखरा–२१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा–२१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे पनि प्रकाश पार्नुभएको थियो ।

यसैबीच, निर्वाचन क्षेत्रका सबै वडामा आज नेकपाले र्याली निकालेको छ । महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका सबै वडामा र्याली निकालिएको हो । सिर्जनाचोकबाट शुरु भएको र्याली जाल्पारोड, बगालेटोल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल नेपाल महिला सङ्घका निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टीभन्दा माथि उठेर महिला नेत्री विद्या भट्टराई अधिकारीलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार