बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • कुरियागाउँको लक्ष्मीनारायण मन्दिर क्षेत्र अतिक्तमण
Breaking News

कुरियागाउँको लक्ष्मीनारायण मन्दिर क्षेत्र अतिक्तमण

– पूर्णप्रसाद मिश्र

काठमाडौँ, ३० कात्तिकः राजस्थानी शैलीमा राणाकालमा थापाथलीको कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको गुठी जग्गा अतिक्रमणमा परेको छ । काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन गुठी संस्थान लागिपरेको छ । सयौँ वर्ष पुरानो पुरातात्कि महत्वको मन्दिरमा हाल स्थानीयवासीलाई प्रवेशमा समेत रोक लगाइएको छ । मन्दिर परिसरको करिब साँढे दुई रोपनी जग्गामा पर्खाल लगाएर निजी बनाइएको छ ।

मन्दिर र यस वरपरको जग्गा पाइलट गोपाल श्रेष्ठ हुँदै उहाँकी श्रीमती पूर्वमन्त्री इन्दिरा श्रेष्ठ र हाल उहाँका छोरा जयपाल श्रेष्ठको नाममा नामसारी भएको छ । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको छ ।
यहाँ भिएस निकेतन, मेरी पपिन्स हुँदै हाल त्रैविद्या शिक्षा सदन भाडामा बस्दै आएका हुन् । त्रैविद्या शिक्षा सदन गत वैशाखदेखि यहाँको टहरामा भाडामा बसेको प्रधानाध्यापक सङ्गीता श्रेष्ठले बताउनुभयो ।

सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा दुःख लागेको बताउँछन् । विसं २००० मा व्रतबन्ध गर्दा आफू दर्शन गर्न लक्ष्मीनारायण मन्दिरमा गएको स्थानीयवासी वृद्ध मुकुन्द आचार्य सम्झनुहुन्छ । “त्यसबेला मन्दिर सार्वजनिक थियो, वरपर चौर थियो, त्यहाँ हामी साँझ–बिहान खेल्थ्यौँ, मन्दिरमा दर्शन गथ्र्यौं, पछि मनोहरशम्शेरले गोपाल श्रेष्ठलाई बेचेको सुनियो, मन्दिर र यस वरपरको जग्गा सार्वजनिक भएकाले यसलाई जोगाउनुपर्छ”, उहाँले भन्नुभयो ।

यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरले लेख्नुभएको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । जसमा लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे ।

उहाँकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार माग्नुभयो । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजीकै घर बनाएर राखे । तिनै रानीले राजस्थानीय शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख गर्नुभएको संस्कृतिको अध्ययन अनुसन्धानमा लाग्नुभएका चेतोनाथ शर्मा आचार्यले राससलाई जानकारी दिनुभयो ।

पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको शाखा कार्यालय काठमाडौँका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।

वर्षौंदेखि सहजरुपमा मन्दिर प्रवेश गर्न नपाएकामा थापाथलीवासी क्रुद्ध छन् । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।

मन्दिर वरिपरिको जग्गामा विसं २०२३/२०२४ तिर क्याप्टेन गोपालले निर्माण गर्नुभएको जस्ताको टहरा हावाले उडाएको चेतोनाथको स्मरणमा अझै ताजा छ । मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुटिरहनुभएको छ ।

युवा समूहका अध्यक्ष अधिकारी मुलुकको मुख्य प्रशासनिक भवनको अघि नै विकृतिका अनेक घटना हुँदासमेत सरोकार भएका निकायको ध्यान नगएको बताउनुहुन्छ । यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशम्शेरले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ । अवशेषका रुपमा थापाको दरबारको मूल ढोका विसं २०६५ सम्म आफूले देखेको अधिकारीले सुनाउनुभयो ।

जङ्गबहादुर राणाको पुख्र्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयवासी बताउँछन् । हाल भाडामा दिइएको विद्यालय भएको स्थानका जग्गाधनी जयपालकी श्रीमती शैलजा श्रेष्ठ जोशी ५० वर्षअघि नै आफ्नो परिवारले किनेको जग्गाका बारेमा संस्थान र पुरातत्व विभागमा गलत सूचना पुगेको बताउनुहुन्छ ।

“भूकम्पपछि मन्दिर र पर्खाल भत्कियो मैले नै बनाएँ, यहाँका पुराना मान्छे सबैलाई थाहा छ, यो हाम्रो जग्गा हो, मेरा श्रीमान् यहीँ हुर्कनुभएको हो, संस्थानले गराएको सर्जमिनमा यहाँका सयौँ पुराना मानिसले हाम्रै जग्गा हो भनी हस्ताक्षर गरेका छन्, बाहिरबाट आएर यहाँ बसेका दुई–चार जना मानिसले मात्र हाम्राविरुद्ध उजुरी दिएका हुन्”, उहाँले भन्नुभयो ।

जग्गाको कित्ता नं र कति सालमा पास गरी ल्याएको भन्ने व्यक्तिगत सम्पत्ति भन्दै श्रेष्ठले खुलाउन चाहनुभएन । यससम्बन्धी उजुरी हालै गठन भएको भूमिसम्बन्धी आयोगमा पनि परी छानबिनका क्रममा रहेको संस्थानले जनाएको छ । प्रशासक नारायण चौधरी जग्गाधनीले संस्थान स्थापना हुनुअघि विसं २०२० मा पास गरी लिएको कागजात देखाएको बताउनुहुन्छ । सरकारी सार्वजनिक जग्गासम्बन्धी आयोग र संस्थानको छानबिन गरी यो विषय टुङ्गो लगाउने उहाँको भनाइ छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै