शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • भेटघाट बन्द गरेर आराममा प्रधानमन्त्री ओली, यस्तो छ उनको स्वास्थ्य अबस्था
स्वास्थ्य

भेटघाट बन्द गरेर आराममा प्रधानमन्त्री ओली, यस्तो छ उनको स्वास्थ्य अबस्था

काठमाडौं । मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् । चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका छन् ।

त्यसैले प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरिरहेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ । उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन ।

दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले दाहाल र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेका थिए ।

दाहाल र पोखरेलसँगको कुराकानी पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शनिबार बिहान १० बजेका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन् । पार्टी भित्र लामो समयदेखि पार्टी एकताका काम रोकिइरहेका छन् । त्यस्तै उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउनुपर्ने काम पनि बाँकी छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थासहित पार्टीका रोकिएका काम अघि बढाउनेबारे परामर्श गर्न सचिवाय बैठक बोलाएका हुन् ।

यसअघि दाहालले बिहीबार पनि ओलीसँग अस्पतालमै झण्डै १ घण्टा कुराकानी गरेका थिए । त्यसक्रममा ओलीले अलि छिटोछिटो समस्या देखिएकाले अस्पताल आउनुपरेको ओलीले बताएका थिए । ‘ठ्याक्कै यति दिन भन्ने त छैन, उपचार पद्धति कसरी अघि बढाउने भन्नेबारे डाक्टरहरु छलफलमै छन्,’ प्रधानमन्त्री ओलीको निजि सचिवालयका एक सदस्यले भने ‘अहिले उहाँले सबै भेटघाट रोकेर आराम गरिरहनुभएको छ ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री आराममै रहेको र भेटघाटहरु बन्द गरिएको बताए । प्रधानमन्त्री बालुवाटारमा रहँदा पनि चिकित्सकहरुको निगरानीमा छन् । उनका निजी चिकित्सक दिव्यसिंह शाहले ओलीको प्रत्यक्ष निगरानी गरिरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार