शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • कैदीबन्दीको तिहारः वडाध्यक्षको खसी, कारागारमै भाइटीका, कारागारमै पुगे दिदीबहिनी
समाज

कैदीबन्दीको तिहारः वडाध्यक्षको खसी, कारागारमै भाइटीका, कारागारमै पुगे दिदीबहिनी

कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी प्रदान गर्नुभएको हो ।

तिहारको भाइटीकाको दिन आज बिहान वडाध्यक्ष कठायतले पत्रकार र प्रहरीको उपस्थितिमा जुम्ला कारागारमा रहेका तीन जना महिलासहित ८४ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभयो । उहाँले रु १२ हजार बराबरको खसी उपलब्ध गराउनुभएको हो ।

खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भन्नुभयो, “दशैँ–तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दशैँ–तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरुले रमाएर दशैँ–तिहार मनाए ।” वडाध्यक्षले कैदीबन्दीलाई तिहारको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताउनुभयो । उहाँले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिनुभयो ।

यसअघि दशैँमा पातारासी गाउँपालिकाले दशैँ मनाउन खसी प्रदान गरेको थियो । चाडपर्व हर्षोल्लासका साथ मनाउन भन्ने उद्देश्यले गाउँपालिकाले दुई वटा खसी प्रदान गरेको थियो । साथै आवश्यक मसला र नुनतेलका लागि नगद रु तीन हजार पनि उपलब्ध गराएको थियो ।

कारागारमै भाइटीका

बनेपाः विभिन्न मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारमै भाइटीका लगाएका छन् । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीहरुमध्ये आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ ।

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देशविदेशमा रहनुभएकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

टीका लागि कारागारले ठाउँ र समयको व्यवस्थापन गरिदिएको जेलर जङ्गबहादुर राईले बताउनुभयो । टाढाटाढाबाट आएका दिदीबहिनीहरुका लागि आवश्यक समय व्यवस्थापन गरिदिएको कारागार शाखाले जनाएको छ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदी बन्दीहरु रहेका छन् ।

कारागारमै पुगे दिदीबहिनी

तनहुँः जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीले आज कारागारभित्रै भाइटीका लगाएका छन् । हरेक वर्ष झैँ कैदीबन्दीले यस वर्ष पनि कारागारभित्रै आ–आफ्ना दिदीबहिनीका हातबाट टीका लगाएका हुन् ।

टीका लगाउन कारागार प्रशासनले व्यवस्थापन मिलाएको सहायक जेलर नारायण अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार टीका लगाउन साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । कूल ३५ जनाको क्षमता रहेको कारागारमा हाल थुनुवा र कैदी गरी १४१ जना कैदीबन्दी रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै