शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • विभूतिको नाममा कसैले राजनीति गर्नुहुँदैन : मन्त्री राई
समाचार

विभूतिको नाममा कसैले राजनीति गर्नुहुँदैन : मन्त्री राई

राँझा । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले देशको विभूतिको नाममा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ । नेपाल संवत् ११४० को अवसरमा सोमबार नेपालगञ्जमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री राईले नेपालगञ्जको कारकाँदो चोकमा शङ्खधर साख्वाको शालिक स्थापना गरी नामाकरण गरिनुपर्ने पक्षमा आफू भएको बताउनुभयो ।

‘शङ्खधर साख्वाको सम्मान गर्न सकेमात्र नेपाल र नेपालीको गौरव बढ्ने छ,’ उहाँले भन्नुभयो,“देशको विभूतिको नाममा चोक नामाकरण गर्ने अभियानमा कसैले राजनीति गर्न हुँदैन ।” शालिक स्थापनाका लागि शङ्खधर साख्वा चोक फाइनल हुनासाथ रकम उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो । संसदीय विकास कोष र शहरी विकास मन्त्रालयले शालिक स्थापनाका लागि सहयोग गर्ने उहाँको भनाइ छ ।

उहाँले गरीब जनताको ऋणमोचन गरेका शङ्खधर साख्वाको सम्मानका लागि नेपाल संवत्लाई प्रचलनमा ल्याउनुपर्ने बताउनुभयो । नेवार समुदाय नेपालको सबैभन्दा पुरानो आदिवासी भएको जिकिर गर्दै उहाँले नेवारी लिपी र नेपाल संवत्को संरक्षणका लागि राज्यले ठोस् नीति ल्याउनुपर्ने बताउनुभयो ।

मन्त्री राईले राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र आइसकेकाले जनताले भत्काएका पूर्व राजाको शालिक भएको ठाउँमा पुनः शालिक राख्ने विषयमा आफू सहमत हुन नसक्ने उल्लेख गर्नुभयो । यसअघि बाँकेका नेवार समुदायले नेपालगञ्जमा मोटरसाइकल ¥याली निकालेका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै