बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • उपनिर्वाचनमा अन्तर्घात भए असह्य हुने– सभापति देउवा
राजनीति

उपनिर्वाचनमा अन्तर्घात भए असह्य हुने– सभापति देउवा

भक्तपुर, ११ कात्तिकः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ भन्नुुभयो ।

उहाँले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उहाँले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गर्नुभयो । पार्टीका जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि विकासका नाममा डोजर आतङ्क चलाइएको बताउँदै जनप्रतिनिधि जग्गा दलाल र भूमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको आरोप लगाउनुभयो ।

उपसभापति हरि नेपाल, सचिव निशान ढुङ्गेल, नेता मदनकृष्ण श्रेष्ठ, केदार खड्का, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमलीलगायतले आसन्न उपनिर्वाचनमा जित काङ्ग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार