सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
राष्ट्र

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

बेइजिङ, ११ कात्तिक– चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया गरी सकुशल स्वस्थ बच्चा जन्मिएको अस्पतालले जनाएको छ । ती महिलाका पतिको उमेर पनि ६८ वर्षको छ । दुबैले नवजात शिशु ईश्वरको वरदान रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

जिनान टाइम्सका अनुसार यस दम्पतीको यसअघि दुई सन्तान थिए । चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मा पछिल्लो छोरा जन्मिएका थिए । सन् २०१६ मा चीनले एक सन्तान नीतिमा पुनरावलोकन गरेको छ, र अब दुई सन्तान जन्माउन पाउने व्यवस्था गरेको छ । चीनमा पछिल्ला केही वर्षदेखि महिलाहरुले ढिलो गरी बच्चा जन्माउने वा बच्चा नै नजन्माउने प्रवृत्ति बढ्दै गएको छ । परिवार नियोजनका कडा नियमहरुका कारण पनि सानो परिवारप्रति धेरै व्यक्ति आकर्षित भइरहेको अध्ययनहरुले देखाएका छन् ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनमा सन् २००६ मा औसत चिनियाँ महिलाले २४ वर्षको उमेरमा बच्चा जन्माउने गरेकामा सन् २०१६ मा २७ वर्षमा पहिलो सन्तान जन्माउन थालेको उल्लेख छ । सन् २०१७ मा करिब ५१ प्रतिशत नवजात शिशु दोस्रो सन्तान थिए जबकी सन् २०१६ मा करिब ४० प्रतिशतले दोस्रो सन्तान जन्माएका थिए । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै