मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • ‘छमछमी सिजन ४’ को विजेता बनिन् हेटौँडाकी सन्ध्या
मनोरञ्जन

‘छमछमी सिजन ४’ को विजेता बनिन् हेटौँडाकी सन्ध्या

हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’ को विजेता बन्नुभएको छ । काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बन्नुभएको हो । उहाँलाई पुरस्कारस्वरुप अल्टो के–१० गाडी प्रदान गरिएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गर्नुभएको थियो । प्रतिष्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गर्नुभएको थियो ।

विसं २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य हुनुहुन्थ्यो । विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम शुरु गरेको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रफुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको परिचयको निम्ति सोरठी खोज्दा हाकुपटासी र धिमे खोज्दा धेरै कलाकृति साहित्यका फाँटमा तरेली लगाउँदा वास्तवमा नेपाली मन उद्देलित हुने बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “त्यसबेला राष्ट्रिय भावना एकता, स्वाभिमान एवं स्वतन्त्रताको उचाइ प्राप्त हुन्छ ।” ऋषिमुनिको देशमा र प्रतिभाको देशमा आज प्रतिभा फल्ने र फुल्ने अवसर पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले राम्रो कलाकार उत्पादन गर्नका लागि टेलिभिजनले दूरदराजका नृत्य प्रतिभालाई प्रष्फुटित गराउने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै