बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • टेस्ट क्रिकेटमा तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी
खेलकुद

टेस्ट क्रिकेटमा तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी

राँची, ५ कात्तिक– भारतले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जितसँगै तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी भयो । चौथो दिनको मंगलबारको खेलमा पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको अन्तिम दुई विकेट पतन भएको थियो । भारतका लागि अन्तिम २ विकेट शाहबाज नदीमले लिएका थिए ।

भारतले लगातार ११ वटा टेस्ट शृङ्खलामा विजय हासिल गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अस्ट्रेलियाले देशभित्र लगातार १० वटा टेस्ट शृङ्खला जितेको थियो । दक्षिण अफ्रिकाले यस शृङ्खलामा लज्जास्पद प्रदर्शन गरेको छ । भारतसामु तीनमध्ये दुई वटा खेलमा दक्षिण अफ्रिका इनिङले पराजित भएको हो । एक दशकभित्र दक्षिण अफ्रिकाको यो पहिलो लज्जास्पद प्रदर्शन हो ।

भारतले पहिलो इनिङमा ४९७ रन बनाई पालि समाप्तीको घोषणा गरेको थियो । त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले दुबै इनिङमा खराब प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिका पहिलो इनिङमा १६२ रनमा अलआउट हुँदै फलोअनमा परेको थियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकी टोली १३३ रनमै समेटिएको थियो ।

भारतीय ब्याट्सम्यान मयङ्क अग्रवाल (२१५), विराट कोहली (२५४ अविजित) र रोहित शर्मा (२१२) ले दोहोरो शतक बनाएका थिए । भारतीय टिमका प्रशिक्षक रवी शास्त्रीले भारतीय बलरले पनि उत्तिकै राम्रो प्रदर्शन गरेको बताउनुभयो । उहाँले आफ्नो टिमको मुख्य ध्यान नै २० विकेट लिनेमा केन्द्रित थियो भन्दै ब्याटिङमा त भारतको प्रदर्शन प्रशंसालायक रहेको बताउनुभयो ।

भारतले यसअघि विशाखापटनम र पुणेमा खेलिएका दुबै टेस्ट जितेको थियो । यी खेलमा भारतीय बलर मोहम्मद शामी र उमेश यादवले १० विकेट लिएका थिए । भारतले यही नोभेम्बर ३ देखि बंगलादेशविरुद्ध दुई टेस्ट र तीन टी२० प्रतियोगिता भारतमै खेल्दैछ । तर यो शृङ्खलामा सहभागी हुने बंगलादेशी मुख्य खेलाडीहरुले तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कारण शृङ्खला नै खतरामा परेको छ । (रासस-एएफपी)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै