शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • लुम्बिनीमा कठिन दान उत्सव शुरु
समाज

लुम्बिनीमा कठिन दान उत्सव शुरु

रुपन्देही, २९ असोजः बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

पोखराका दाता पान श्री गुरुङको सहयोगमा आयोजित कथिन उत्सवमा लुम्बिनीको राजकीय बुद्ध बिहारमा तीन महीना वर्षाबासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका २० जना भिक्षहरुलाई बौद्ध परम्पराअनुसार चिबर दान, अष्ट परिष्कार दान गर्ने कार्यक्रम छ । भिक्षुले लगाउने पहेँलो वस्त्र (चीवर) र भिक्षापात्रलाई चीवर दान भनिन्छ ।

अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चीबर र भिक्षा पात्र प्रदान गरिन्छ । कठिन उत्सवमा सहभागी हुन विभिन्न क्षेत्रका भिक्षु, गुरुआमा तथा उपासक उपासिकाहरु लुम्बिनी आइपुग्नुभएको छ । उत्सवको पहिलो दिन आज लुम्बिनी राजकीय बुद्ध बिहारमा धार्मिक कार्यक्रम चलिरहेको छ ।

बिहारमा भिक्षुसङ्घबाट परित्राण पाठ तथा बुद्ध पूजालगायत विभिन्न कार्य आयोजना गरिएको बिहारका प्रमुख भिक्षु सागर धम्मले जानकारी दिनुभयो । पूजामा विभिन्न क्षेत्रका भिक्षुहरु, पाल्पा, रुपन्देही, पोखरालगायतका विभिन्न ठाउँका बुद्ध धर्मका अनुयायी तथा उपासक उपाशिकाहरु सहभागी भएका छन् । कठिन उत्सवको दोस्रो दिन बिहीबार वर्षाबासमा बसेका भिक्षु गुरुआमासहित सङ्घलाई चीबर दान र अष्टपरिष्कार दान गर्ने कार्यक्रम छ । कार्यक्रममा बौद्ध शिक्षको लागि योगदान पु¥याएका दाता र स्थनीय अगुवाहरुलाई सम्मान गरिने भिक्षु धम्मले जानकारी दिनुभयो ।

लुम्बिनीको महिलवार बजारबाट बृहत झाँकीसहितको शोभायात्रा निकाल्ने कार्यक्रम रहेको बौद्ध महिला समितिका उपाध्यक्ष तथा वर्षाबास कार्यक्रमका संयोजक राजकुमारी गुरुङले जानकारी दिनुभयो । बाजागाजा सहित निकालिने शोभायात्रामा थारु समुदायको संस्कृति झल्कने नाच, लुम्बिनी बौद्ध बिराहा नाच प्रस्तुत हुनेछ ।

प्रत्येक असार महीना पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षाबास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीनभित्रका जीवहरु र कीराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिड्डुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षाबास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न बिहारमा भिक्षुहरु वर्षाबास बस्नुभएको थियो ।

लुम्बिनीको राजकीय बुद्ध विहारमा भिक्षुहरु सागर धम्म, भिक्षु विमल धम्म र भिक्षु मिलिन्द वर्षाबासमा बस्नुभएको थियो । भिक्षुहरुका अनुसार भिक्षु जीवनमा वर्षाबासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम अर्थात विनियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्र्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा बिहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावासको संज्ञा दिइएको छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै