सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ
समाचार

दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ

– काशीराम शर्मा

बाँके, १० असोज : दशैँ नजिकिँदैछ, बजारमा किनमेलका लागि ग्राहकको भीड बढिरहेको छ । दशैँमा मासुका लागि सर्वसाधारणले खसीबोकाको खोजी पनि उत्तिकै गरिरहेकै छन् । नेपालगञ्जमा पूजाआजाका लागि नवदुर्गाको मूर्ति स्थापनाको तयारी उस्तै छ । घटस्थापनादेखि चोकचोकमा दुर्गामूर्ति स्थापना गरी नवदुर्गा अवधिभर पूजाआजा गर्ने गरिन्छ ।

जिल्लाका बजार तथा ग्रामीण क्षेत्रका चोकचोक र टोलटोलमा दुर्गा मूर्ति स्थापना गर्ने परम्परा छ । त्यसका लागि एक÷डेढ महीना अगावैदेखि दुर्गा मूर्ति बनाउन शुरु गरिन्छ । बाँकेलगायत आसपासका जिल्लामा स्थापना गरिने सबै दुर्गा मूर्ति भारतबाट आयात गरिन्थ्ये । तर, पछिल्ला केही वर्षदेखि नेपालगञ्जमा पनि दुर्गा मूर्ति बनाउन थालिएको छ ।

नेपालगञ्ज त्रिवेणीमोडमा अङ्कित मिश्रलाई अहिले दुर्गा मूर्ति बनाउन भ्याइनभ्याइ छ । एउटा दुर्गा मूर्तिको सेट तयार गर्न १० देखि १५ दिनसम्म लाग्ने उहाँले बताउनुभयो । आफ्ना सहयोगी लिएर १८ मूर्तिका सेट तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । “घटस्थापना अघिसम्म सबै मूर्ति तयार गरिसक्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “घटस्थापनाको एक महीनाअघिदेखि मूर्ति निर्माण शुरु हुन्छ, अर्डरअनुसार वा बिक्रीका लागि तयार गर्ने गरेका छौँ ।”

अङ्कितले बाँके मात्रै नभएर सुर्खेत, दाङ र काठमाडौँसम्म मूर्ति बनाएर पठाउने गरेको बताउनुभयो । एउटा दुर्गा मूर्तिको सेट १५ हजारभन्दा बढीमा बिक्री हुन्छ । जति ठूलो र धेरै देवीदेवताको मूर्ति बनायो त्यति बढी रकम लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि उहाँले गत वर्ष १८ मूर्तिका सेट निर्माण गरेको जानकारी दिनुभयो ।

“मूर्ति खरीदमै लाखौँ रकम भारत गइरहेको देखेपछि मूर्ति बनाउन शुरु गरेको हुँ”, अङ्कितले भन्नुभयो, “यसले आम्दानीभन्दा सन्तुष्टि प्राप्त हुन्छ ।” उसो त अङ्कित सानैदेखि मूर्ति बनाउनुहुन्थ्यो । प्रत्येक वर्ष उहाँले पाउने मूर्तिको माग थपिँदै गएको छ । उहाँले दशैँको समयबाहेक अन्य बेला शाकाहारी नास्ता पसल चलाउँदै आउनुभएको छ । घटस्थापनामा जिल्लामा मात्रै २५० दुर्गा मूर्ति स्थापना गरिने अनुमान छ ।

लखेरन टोलका विनयकुमार पनि दुर्गा मूर्ति बनाउनुहुन्छ । उहाँले मूर्ति बनाउन शुरु गरेको ३० वर्ष भइसकेको बताउनुभयो । “पर्वका बेलाबाहेक पनि मागअनुसार मूर्ति बनाउने गरेको छु”, उहाँ भन्नुहुन्छ । यस वर्ष विनयले १५ दुर्गाका मूर्ति सेट निर्माणको माग आएको बताउनुभयो । उहाँ सबै मूर्ति समयमै तयार गर्न दिनरात मिहेनत गरिरहेको बताउनुहुन्छ । सिद्धार्थ लेखर विद्यार्थी हुनुहुन्छ, उहाँलाई पनि मूर्ति बनाउन रहर लान्छ । सिद्धार्थ पनि मूर्ति बनाउने कला सिक्न विनयसँगै बसिरहनुभएको छ ।

माटो, सुतरीको डोरी, बाँस, भुसलगायतको प्रयोग गरी मूर्ति बनाउने गरिन्छ । मूर्तिमा सजाउने वस्तुभने कलाकारले भारतबाट ल्याउने गरेका छन् । मूर्ति बनाउने काम अङ्कितले दशैँमा मात्र गर्नुहुन्छ भने विनयको प्रमुख पेशा मूर्ति बनाउने र सजावटका सामान बनाउने हो । “दुर्गा मूर्ति बनाउनु रहर हो, धार्मिककार्य भएकाले पैसा कमाउनेभन्दा पनि सन्तोष मिल्छ”, विनयले भन्नुभयो ।

यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्लो ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायीरूपमै यात्रु सहायता केन्द्र रहनेछन् ।

यस्तै चप्परगौडी, पुष्पलालचोक र कोहलपुर चौराहामा अस्थायी यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । ट्राफिक प्रहरी, सामुदायिक तथा जनपद प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधि ट्राफिक भोलियन्टरका रूपमा नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा खटिने प्रहरी निरीक्षक बमले बताउनुभयो ।

“चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायताकक्ष सञ्चालन गर्न लागिएको हो”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “भीडभाड हुनेस्थल र टिकट काउन्टरमा हुनसक्ने ठगी नियन्त्रण गर्न सहायताकक्ष सञ्चालन गर्न लागेका हौँ ।” जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि उहाँले बताउनुभयो । ट्राफिक सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्यरुपमा भए÷नभएको समेत जाँच गरिने प्रहरी निरीक्षक बमको भनाइ छ ।

“दुई चालक भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिनेछ”, उहाँले भन्नुभयो । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट अनिवार्य टाँस गर्न लगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताउनुभयो । उहाँका अनुसार विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिनेछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै